काठमाडौं। चौधरी ग्रुपअन्तर्गतको सिजी होल्डिङ्सले नगरकोटमा तयार पारिरहेको लक्जरी रिसोर्ट भंगेरी दरबार दसैंअघि सञ्चालनमा आउने भएकाे छ।
१ अर्ब लगानीमा निर्माण भएको रिसोर्ट दसैंअघि सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा भइसकेको भंगेरी दरबारका एक अधिकारीले जानकारी दिएका हुन्।
‘अबको केही समयभित्रै हामी सञ्चालनको मिति सार्वजनिक गर्दै छौं,’ ती अधिकारीले भने, ‘व्यवस्थापन आफैंले लिने वा अरुलाई दिने भन्ने निर्धारण हुन मात्र बाँकी छ।’ साढे २६ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ५१ वटा कोठा तयार भएका छन्।
सूर्योदय र सूर्यास्तलाई नजिकबाट नियाल्दै प्रकृतिसँग रमाउनेलाई आकर्षण केन्द्रको रुपमा रिसोर्टलाई राखिएको छ। रिसोर्टका हरेक कोठाबाट हेर्न मिल्ने गरी निर्माण गरिएको सिजी होल्डिङसको तर्फबाट निर्माणमा सहभागी रहेकाे एक उच्च अधिकारीले जानकारी दिए।
रिसोर्टको पुनः निर्माण गरेर लक्जरी रिसोर्ट बनाउन चौधरी ग्रुपले २०७६ बाटै सुरु गरेको थियो। तर, कोभिड‑१९ र आर्थिक संकटको कारण लम्बिँदै गएको हाे।
काभ्रेको मण्डनपुर नगरपालिका २ नगरकोट हाइटमा निर्माण भइरहेको रिसोर्टमा पाँच वटा भवन छन्। तीमध्ये एक वटा भवनमा लबी, रिसेप्सन, बैंक्विट हल र रेष्टुरेन्ट निर्माण गरिएको छ। पाँच तारे स्तरको लक्जरी रिसोर्टमा मल्टी कुजिन रेष्टुरेन्ट एण्ड बार, बैंक्विट हल, हिटेड स्विमिङ पुल र हेल्थ क्लबको सुविधा छ।
२०७४ मा भंगेरी दरबार व्यवसायी किशोरराज पाण्डेसँग चौधरी ग्रुपले खरिद गरेको थियो। रिसोर्टको पुनः निर्माण गरेर लक्जरी रिसोर्ट बनाउन चौधरी ग्रुपले २०७६ बाटै सुरु गरेको थियो। तर, कोभिड‑१९ र आर्थिक संकटको कारण लम्बिँदै गएको चौधरी ग्रुपले जनाएको छ।
अरुण चौधरी अध्यक्ष रहेको सिजी होल्डिङ्सले नगरकोटसहित विभिन्न ठाउँमा होटल तथा रिसोर्ट निर्माण गरिरहेको छ। हाल सिजी होल्डिङ्समार्फत बूढानीलकण्ठमा मिराकी, चितवनमा टाइगरल्यान्ड सफारी रिसोर्ट सञ्चालन गरिरहेको छ। यस्तै कुपन्डोलमा पाँचतारे होटल लेमन ट्री सञ्चालन तयारी छ।
यद्यपि सिजीले नगरकोटमा आन्तरिक एवं बाह्य पर्यटकलाई लक्षित गरी निर्माण गरिरहेको लक्जरी रिसोर्टको व्यवस्थापनको जिम्मा ‘लेमन ट्री’लाई दिएकाे छ।
व्यवस्थापनको जिम्मेवारी दिए पनि होटल निर्माणको काम निर्धारित समयभन्दा ढिलाइ हुँदा जिम्मेवारीबाट ‘लेमन ट्री’ बाहिरिने चर्चा भए पनि अहिलेसम्म कुनै निर्णय नभएकाे बुझिएकाे छ।
लेमन ट्री भारतको लक्जरी रिसोर्ट र होटल व्यवस्थापन गर्दै आएको प्रसिद्ध ब्रान्ड हो। यसअघि २०८२ जेठमै रिसोर्ट सञ्चालन गर्ने तयारी गरिएको थियो। तर, विविध कारणले समयमै रिसोर्ट हस्तान्तरण हुन ढिलाइ भएकाे थियाे।
पछिल्लो समय भारतीय पर्यटकको नेपालमा बढ्दो आगमनलाई ध्यानमा राख्दै लेमन ट्रीको प्रवेश बढिरहेको छ। हाल लेमन ट्री प्रिमियरले बुढानीकण्ठमा पाँचतारे होटल व्यवस्थापन सम्हालिरहेको छ।