पोखरा। वेल बिइङ इज फर अल’ (सबैका लागि स्वास्थ्य) नाराका साथ सन् २०२२ मा पोखरामा स्थापना भएको आभ्या क्लब शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यलाई एकसाथ प्रवर्द्धन गर्दै फिटनेस पारखीको मन जितिरहेको छ।

अमेरिकाबाट आयातीत बायो–मेकानिकल रिसर्चमा आधारित उपकरण र अन्तर्राष्ट्रिय स्तरको सुविधा लिएर क्लबले सदस्यहरूलाई अद्वितीय अनुभव दिँदै आएको छ।
पोखराको घारीपाटनमा अवस्थित क्लब ११ हजार वर्गफिटमा फैलिएको छ, जसमा ४,४०० वर्गफिट क्षेत्रफलको अत्याधुनिक व्यायामशाला रहेको छ। माछापुच्छ्रे हिमालको मनमोहक दृश्यसहित यहाँ व्यायाम गर्दा सदस्यहरूले प्रकृति र स्वास्थ्य दुवैको आनन्द लिन सक्छन्।

अत्याधुनिक सुविधा र सेवाहरू
क्लबले हालै महत्त्वपूर्ण स्तरोन्नति गर्दै विश्वस्तरीय ब्रान्डहरू– लाइफ फिटनेस, प्रिकोर, इकारियन ह्यामर स्ट्रेन्थका ७० बढी नयाँ उपकरण थपेको छ। यसले सबै तहका फिटनेस उत्साहीहरूलाई सहज र आकर्षक बनाएको छ।
फिटनेसका साथै, क्लबमा स्पा, साउना, स्टिम, टेनिस कोर्ट, स्विमिङ पुल, रेस्टुरेन्ट, योगा हल र क्याटरिङ सेवा उपलब्ध छन्। बालमैत्री शौचालय, स्नानकक्ष र लकर सुविधाले यसलाई पारिवारिक गन्तव्यको रूपमा स्थापित गरेको छ। ट्रेकिङप्रेमीका लागि विशेष पोस्ट–रिल्याक्सेसन प्याकेज (थेराप्युटिक मसाज, स्टिम थेरापी, स्पा र पोषणयुक्त खाना) क्लबको अर्को आकर्षण हो।

फिटनेसप्रतिको बढ्दो आकर्षण
फिटनेस प्रशिक्षक शंकर सुवेदीका अनुसार, स्वास्थ्यप्रति बढ्दो सचेतना र जीवनशैलीमा सुधार ल्याउने चाहनाले युवादेखि वृद्धसम्म सबै फिटनेसतर्फ आकर्षित भएका छन्। उनी भन्छन्, ‘फिटनेस केवल शरीर बनाउने ठाउँ मात्र होइन, यो जीवनशैली सुधार्ने माध्यम हो। नियमित व्यायामले तनाव, चिन्ता र डिप्रेसन घटाउँछ, आत्मविश्वास बढाउँछ र निद्रामा सुधार ल्याउँछ।’
सामाजिक सञ्जालमा देखिने फिटनेस र जुम्बाका भिडियोहरूले पनि युवा पुस्तालाई प्रेरित गरेको सुवेदी बताउँछन्। तर, उनी अनुशासन र नियमिततालाई प्राथमिकता दिन सुझाव दिन्छन्।
सदस्यहरूको अनुभव
नियमित सदस्य थानेश्वर बराल भन्छन्, ‘मेरो ६ फिट ५ इन्च उचाइका कारण अन्य जिममा उपयुक्त उपकरण पाउन गाह्रो हुन्थ्यो। तर, आभ्यामा अन्तर्राष्ट्रिय मापदण्डका मेसिनले व्यायाम सजिलो र आनन्दमय बनाइदिएको छ।’
त्यस्तै, सजना तिवारी भन्छिन्, ‘व्यायामले मलाई स्वस्थ राख्नुका साथै तनाव र मानसिक दबाब घटाउन मद्दत गरेको छ। पोखरामै यस्तो अन्तर्राष्ट्रिय स्तरको सुविधा पाउँदा गर्व लाग्छ।’

एक विदेशी सदस्यले आफ्नो समीक्षा लेख्दै भनेकी छन्, ‘क्लब सधैं सफा, व्यवस्थित र उच्चस्तरीय मेसिनले सुसज्जित छ। प्रशिक्षकदेखि रिसेप्सनसम्म सबै जना असाध्यै सहयोगी र मैत्री छन्। यो जिम सबैलाई सिफारिस गर्न चाहन्छु।’
सामुदायिक संलग्नता र स्थानीय अर्थतन्त्रमा योगदान
आभ्या क्लबले स्वस्थ जीवनशैली मात्र होइन, समुदाय र स्थानीय अर्थतन्त्रलाई पनि समर्थन गर्दै आएको छ। हरेक शनिबार सञ्चालन हुने ‘स्याटरडे मार्केट’ मा स्थानीय कृषक र साना उद्यमीले आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसर पाउँछन्।
इभेन्ट संयोजक कृपा श्रेष्ठ भन्छन्, ‘हस्तकला, पेन्टिङ, योगा र माइन्डफुलनेसजस्ता कार्यक्रमले भित्री प्रतिभा प्रस्फुटन गराउने काम गरेका छन्। ‘फार्मर टु रिटेलर’ र ‘बायर टु बायर’ अवधारणाले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष फाइदा पुर्याएको छ।’
२५ जनालाई प्रत्यक्ष रोजगारी दिँदै आभ्या क्लबले पोखरामै स्वास्थ्य, समाज र संस्कृति समेट्ने नयाँ लहर ल्याएको छ।
