काठमाडौं। नेपालको वैदेशिक रोजगार व्यवसायमा बारम्बार एउटा विवादित नाम सुनिन्छ– अमिन। उनको पूरा नाम मोहम्मद अमिनुल इस्लाम नुर हो। उनी बंगलादेशी नागरिक हुन्। तर, मलेसियामा बसेर नेपाल र बंगलादेशको म्यानपावर व्यवसायमा आफ्नो सिण्डिकेट चलाउँदै आएका छन्।
मलेसियास्थित विवादास्पद कम्पनी बेस्टिनेट एसडिन बीएचडीका संस्थापक अमिनले कामदार लैजानेदेखि मेडिकल गराउने, भिसा लगाउनेदेखि पासपोर्ट संकलनसम्मको काम विभिन्न मुलुकमा सिण्डिकेट शैलीमा गर्दै आएका छन्। उनले नेपालमा करिब १० वर्षदेखि मलेसियाको रोजगारीमा कनेक्सन गर्दै ठूलो कमिशन उठाउँदै आएका छन्। उनकै योजनाअनुसार केही वर्षअघि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि सीमित स्वास्थ्य संस्थालाई मात्र जिम्मा दिइयो।
यसले सिण्डिकेट सिर्जना गर्यो र कामदारले महँगोमा स्वास्थ्य परीक्षण गर्न बाध्य भए। आलोचना भए पनि यो लागू भएरै छोड्यो। अहिले उनै अमिनले फेरि मलेसिया पठाउने म्यानपावर कम्पनीलाई सीमित राख्दै अर्को सिण्डिकेटको तयारी गरिरहेका छन्। धेरै म्यानपावर व्यवसायीले यसको विरोध गरिरहेका भए पनि केहीले भने उनीसँग र उनको एजेन्टसँग एक्लाएक्लै भेट गर्दै डिल गरिरहेको बताइएको छ।

अमिनका तर्फबाट बिचौलिया नेपाल आउने र नेपालबाट मलेसिया जाने म्यानपावर व्यवसायीसँग पटक-पटक छलफल चलिरहेको छ। प्रगतिशील रोजगार व्यवसायी मञ्चका कार्यवाहक अध्यक्ष दलवीर भण्डारीका अनुसार, मलेसिया रोजगारीमा सिण्डिकेट लागू गर्न सीमित व्यवसायी सक्रिय छन् र यसमा बंगलादेशी नागरिक अमिनकै हात छ।
“नेपालका बिचौलियासँग मिलेर परराष्ट्र र श्रम मन्त्रालयलाई प्रभावमा पार्दै काम हुन लागेकाले हामी निरन्तर विरोध गरिरहेका छौँ,” उनले भने। मञ्चका उपाध्यक्ष डिकबहादुर खत्री र सचिव मदन पौडेले मलेसियामा पुगेर नेपाली कामदार माग गर्ने कारखानाको एशोसिएसनलाई ज्ञापन पत्र बुझाइसकेका छन्।
त्यस्तै, मलेसियामा रहेको नेपाली दूतावासलाई पनि ध्यानाकर्षण गराइएको छ। मलेसियाको निजी रोजगार एजेन्सीहरूको संघ र नेपाली पक्षले संयुक्त रूपमा विरोध गर्नुपर्ने प्रस्ताव समेत राखिएको भण्डारीले बताए।
वैदेशिक रोजगार व्यवसायी संघले पनि गत जेठमा विज्ञप्ति जारी गर्दै मलेसियामा सिण्डिकेट लगाउने प्रयासको कडा विरोध जनाएको थियो। मलेसियास्थित परराष्ट्र मन्त्रालयले १८ अप्रिल २०२५ मा कृषि, प्लान्टेसन, निर्माण र सेवा क्षेत्रका श्रमिक माग प्रमाणिकरणका लागि सहमति जनाउँदै २५ अप्रिलमा मागपत्र स्वीकृत गरेको जानकारी सार्वजनिक गरेको थियो। यससँगै सीमित व्यक्तिहरूको समूहद्वारा मलेसियामा रोजगार अवसर नियन्त्रण गर्ने प्रयास भइरहेको र नेपाली श्रमिकका लागि अवसर संकुचित पार्ने गतिविधि बढेको संघले जनाएको छ।
संघका महासचिव महेशकुमार बर्तौलाले मलेसियामा केही व्यक्तिहरूले प्रक्रियालाई आफ्नो नियन्त्रणमा लिन खोजेको काम अत्यन्त चिन्ताजनक रहेको बताएका छन्। “यसले वैदेशिक रोजगार व्यवसायको गरिमा, समान प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय एक्यबद्धतालाई कमजोर पार्छ,” उनले भने।
संघका अध्यक्ष भुवनसिंह गुरुङले श्रमिकको हित, अधिकार र सम्मानको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइने बताउँदै, सिण्डिकेट प्रवृत्तिका विरुद्ध सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली निकायलाई तत्काल कडा कदम चाल्न आग्रह गरेका छन्।
संघले २०८१ साल वैशाख ९ गते श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत मलेसियामा कानुनी प्रक्रिया बाहिरका गतिविधि रोक्न विज्ञप्ति जारी गरिसकेको र आवश्यक परे थप कडा कदम चाल्ने चेतावनी दिएको छ। नेपाली व्यवसायीहरूको कडा विरोधपछि पनि बंगलादेशी नागरिक अमिनले नेपालमा सिण्डिकेट लागू गर्ने प्रयास जारी राखेका छन्। उनी निकट दिललन सिंह नेपाल आएर होटल हिल्टनमा केही व्यवसायीलाई भेटेका थिए। उनी मलेसियाको ब्राइटवे कम्पनीका प्रतिनिधिसमेत हुन्।
सो भेटमा सिण्डिकेट पक्षका नेपाली व्यवसायीहरूले कमिशन कति दिने र कति वटा म्यानपावरलाई सूचीबद्ध गर्ने भन्ने विषयमा छलफल भएको एक व्यवसायीले क्यापिटल नेपाललाई बताए। ब्राइटवे ग्रुप त्यही कम्पनी हो, जसले मलेसियामा डिस्पोजेबल ग्लोभ उत्पादन गर्छ। सन् २०२२ मा उक्त कम्पनीमा तस्करीमार्फत ल्याइएका र जबरजस्ती श्रम गराइएका १३ जना बंगलादेशी आप्रवासीका परिवारले अमेरिकी संघीय अदालतमा अन्सेल र किम्बर्ली क्लार्क कर्पोरेसनविरुद्ध मुद्दा दायर गरेका थिए।
म्यानपावरमा सिण्डिकेट गर्ने र कामदारलाई ठग्ने आरोपमा गत वर्ष बंगलादेशले दुई व्यवसायीलाई पक्राउ गरी बंगलादेश पठाउन मलेसियासँग औपचारिक अनुरोध गरेको थियो। ब्लूमबर्गका अनुसार, यस घटनामा बेस्टिनेटका संस्थापक अमिन र उनका साझेदार मो. रूहुल अमिन संलग्न थिए।
गत वर्ष अक्टोबर २४ मा ढाकास्थित इन्टरपोल शाखाले मलेसियाली इन्टरपोललाई पठाएको पत्रमा उनीहरूलाई पीडित श्रमिकबाट ठगी, शारीरिक तथा मानसिक यातना दिएको र अवैध रूपमा पैसा असुली गरेको उल्लेख थियो। प्रोथम आलोकका अनुसार, यस समूहले श्रमिकबाट अत्यधिक शुल्क असुल्ने र करिब ५० अर्ब बंगलादेशी टाका अवैध रूपमा लुकाउने गरेको आरोप छ। आधिकारिक शुल्क २,७०० टाका भए पनि पीडितहरूले करिब एक लाख ७ हजार टाका तिर्न बाध्य भएको रिपोर्टमा उल्लेख छ।
मलेसियाको आप्रवासन विभागले बेस्टिनेटको एफडब्लूसिएमएस प्रणाली २०१३ देखि प्रयोग गर्दै आएको छ। जसले विभिन्न देशका श्रमिक भिसा आवेदन प्रक्रिया अनुगमन गर्छ। बेस्टिनेटका संस्थापक अमिनमाथि गत वर्ष मात्र कालोधन संकलन र मनी लाउन्डरिङको आरोपमा अनुसन्धान भएको थियो। दक्षिण चाइना मर्निङ पोष्टका अनुसार, मलेसियामा हजारौं बंगलादेशी कामदारलाई नक्कली रोजगारी देखाएर प्रति कामदार पाँच हजार अमेरिकी डलरसम्म असुलिएको र ऋण तिर्न अवैध रूपमा काम गर्न बाध्य बनाइएको रिपोर्ट छ।
हाल नेपालमा पनि यस्तै गतिविधि भइरहेको आरोप व्यवसायीहरूले लगाएका छन्। केही म्यानपावर व्यवसायीहरू मलेसिया गएर बेस्टिनेटका कर्मचारीसँग भेटिरहेका छन्, अमिनका सहयोगी नेपाल आएर सीमित म्यानपावरलाई भेटेर डिल गर्दैछन्।
हाल कोटामा पर्ने ६५ भन्दा बढी म्यानपावरले करिब एक अर्ब रुपैयाँ बुझाएको र त्यो पैसा मलेसिया पुगेको आरोप छ। “सिण्डिकेट कोटामा परे ठिकै छ, नत्र मलेसियाबाट अमिनले पठाउने कामदार मागमा रकम कटाउने शर्त राखिएको छ,” एक व्यवसायीले क्यापिटल नेपाललाई बताए। नेपालका केही ठूला म्यानपावर कम्पनी र व्यवसायीको यो सिण्डिकेट प्रक्रियामा नाम आइसकेको छ। रविन गुरुङ, वाइवी राईलगायतको नाम आएको भए पनि उनीहरूले आरोप अस्वीकार गरेका छन्।