नेपाली कम्युनिस्ट आन्दोलनलाई नेपालको वस्तुगत वास्तविकतामा अगाडि बढाउन अद्वितीय वैचारिक र सांगठनिक योगदान गर्ने जननेता मदन भण्डारीको २५औं स्मृति दिवस पारेर देशका सबैभन्दा ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र विलय भएर नेपाल कम्युनिस्ट पार्टीको जन्म भएपछि नेपाली राजनीति एकाएक तातेको छ ।
हाल चलेको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको बहसले एकातिर परम्परागत संसदीय लोकतन्त्रको हिमायती कांग्रेस झस्किएको छ भने जबजवादी पूर्वएमालेभित्र पनि तरंग पैदा गरेको छ । यो विषयले आगामी दिनमा ठूलै बहसको आमन्त्रण गरेको छ। जे होस् विभिन्न आशंकालाई चिरेर विघटित एमाले अध्यक्ष केपी ओली र विघटित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकतालाई निष्कर्षमा पुर्याएका छन् । केपी ओली र प्रचण्डले निर्वाह गरेको ऐतिहासिक भूमिकाले यो एकताले सम्पूर्ण चरण पुरा गर्ने अब निश्चित छ।
तृणमुल तहसम्म एकता सम्पन्न हुन केही महिना लाग्ने भए पनि यो एकताले देशलाई सुन्दर सम्भावनातर्फ डोर्याउने निश्चित छ।
क) स्थायित्व र विकास२००७ सालदेखि अहिलेसम्म कुनै पनि सरकारले पूर्ण कार्यकाल पूरा गर्न पाएन । अधिकांश सरकार आन्तरिक खिचातानी र विदेशी चलखेलका कारण असमयमै आफ्नो मिसन शुरु नहुँदै वा पूरा नहुँदै गिर्दै आएका थिए । यो एकताले त्यो परम्परालाई अन्त्य गरिदिएको छ । ०६२/६३ सालको जनक्रान्तिपछि विभिन्न कारणले सधैं हङ पार्लियमेन्टको अभ्यास हुँदै आयो । स्वाभाविक रूपमा त्यस्तो संसदले स्थिर सरकार दिन सक्ने कुरा थिएन । तर, पार्टी एकताले दशकौ पछाडि देशमा एउटा पार्टीको पूर्ण बहुमतको सरकार निर्माण भएको छ ।
अब यो सरकार कुनै चलखेल वा तागतले पाँच वर्ष हटाउन सक्दैन । वर्तमान सरकार आफ्ना एजेन्डा पूर्ण रूपमा कार्यान्वयन गर्न सक्ने अवस्थामा पुगेको छ । यो सरकारलाई कुनै पनि बेला ढाल्न सकिन्छ भन्ने कांग्रेसका केही नेताको अभिव्यक्तिलाई यो एकताले मृगमरिचिकामा परिणत गरिदिएको छ। अब यो सरकार अत्यन्त मजबुत भएको छ। नेकपाको आन्तरिकबाहेक यो सरकार अरू कारणले तलमाथि हुँदैन।
ख) कम्युनिस्ट आन्दोलनको एउटै धारनेपालको कम्युनिस्ट आन्दोलन दशकौंदेखि विभाजित हुँदै आएको थियो । विघटित एमाले र माओवादी केन्द्रले फरक धारको नेतृत्व गर्दै आएका थिए । नेपालको कम्युनिस्ट आन्दोलन शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अगाडि बढ्ने कि सशस्त्र विद्रोहको माध्यमबाट अगाडि बढ्ने हो भन्नेमा ठूलो विवाद चल्दै आएको थियो । सम्पन्न पार्टी एकताले शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोलाई स्वीकार गरेको छ ।
मोहन वैद्य र विप्लवको अत्यन्त सानो समूहले तत्काल यो बाटो नस्वीकारे पनि करिब शत प्रतिशत वाम जनमत शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो नै ठीक बाटो हो भन्ने निष्कर्षमा पुगेको अवस्था छ । नेपाल कम्युनिस्ट पार्टीको समाजवादमा पुग्ने बाटो शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो भएपछि पार्टीको सांगठनिक स्वरूप पनि प्रतिस्पर्धामा आधारित हुने पक्का भएको छ। विगतमा अभ्यास गरिएका राम्रा कुरालाई झन समृद्ध बनाउने र पार्टीलाई थप क्रान्तिकारी बनाउने दिशातर्फ यो पार्टी अगाडि बढ्ने सहज अपेक्षा गर्न सकिन्छ । विगतमा तत्कालीन माओवादीले नेपालको कम्युनिस्ट आन्दोलनमा अभ्यास गर्दै आएको संगठनको सैनिक शैलीको पनि विधिवत् अन्त्य भएको छ।
ग) गन्तव्य समाजवादसमाजवादमा पुग्ने लक्ष्यसाथ विघटित एमाले र माओवादीबीच गठबन्धन भएको थियो । एक्काइसौं शताब्दीमा नेपाली समाजवादको स्वरूप पनि फरक हुने निश्चितै छ। विगतमा कम्युनिस्ट पार्टीको एकाधिकारमा निर्माण भएका समाजवाद असफल भएको सन्दर्भमा नेपालमा निर्माण हुने समाजवाद प्रतिस्पर्धात्मक एवम् बहुलवादी शासन प्रणालीमा आधारित हुनेछ। नेपाल कम्युनिस्ट पार्टीले लोकतन्त्र, समृद्धि र समाजवादलाई आफ्नो जीवन पद्धतिको रूपमा विकास गर्नेछ।
घ) स्वाधीनताको संरक्षणनेपालको विशिष्ट भौगोलिक अवस्थितिका कारण इतिहासदेखि नै यसको स्वाधीनता जोगिँदै आएको छ । इतिहासमा नेपालले कहिल्यै कसैको गुलाम बन्नु परेन । नेपाललाई गुलाम बनाउने प्रयास पू्र्खाले असफल बनाए । पछिल्लो समयमा देशको स्वाधीनता जोगाउन नेपालका कम्युनिस्टहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । तर, नेपाल अहिले पनि वैदेशिक हस्तक्षेपबाट मुक्त भइसकेको छैन ।
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सबैखाले विदेशी हस्तक्षेपको अन्त्य गरेर मात्र स्वाधीन, सार्वभौम र समृद्ध नेपालको निर्माण गर्न सकिन्छ। अब जनता दुई तिहाइको शक्तिशाली सरकारको कुरामा होइन, सकारात्मक काम र परिणामको प्रतीक्षामा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४