काठमाडौं। नेपाल पर्यटन बोर्डमा रिक्त भएको सदस्यमा पोखरामा पर्यटन क्षेत्रमा प्रत्यक्ष लगानी भएका व्यक्तिलाई मात्र नियुक्त गर्न व्यवसायीहरुले माग गरेका छन्।
संस्कृती,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई भेट गरी पोखराका पर्यटन व्यवसायीहरुको विभिन्न संघसंस्थाले जसको पोखरामा प्रत्यक्ष पर्यटन क्षेत्रमा लगानी छ उसैलाई नियुक्ती गर्न अनुरोध गरेका हुन्।
पर्यटन क्षेत्रको लागि पोखरेली पर्यटन व्यवसायीहरुको ठूलो योगदान रहेको उल्लेख गर्दै बोर्ड सदस्यमा पर्यटन क्षेत्र बुझेको र पर्यटन मै प्रत्यक्ष लगानी भएका व्यक्तिलाई ल्याउन होटेल संघ पोखरा, पोखरा पर्यटन परिषद्, पोखरा पर्यटन व्यवसायी संघलगायतका पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुले पर्यटनमन्त्री बद्री पाण्डेलाई भेटेर सुझाव दिएका हुन्।
पर्यटन राजधानीको रुपमा चिनिने पोखराका व्यवसायीहरूले नेपाल पर्यटन बोर्डको रिक्त सदस्य पदमा पोखराबाट प्रतिनिधित्व हुने गरी व्यवसायीको नियुक्ति गर्न माग गरेका छन्।
व्यवसायीहरूद्वारा पेस गरिएको अनुरोधपत्रमा हाल नेपाल पर्यटन बोर्डमा दुई सदस्य पद रिक्त रहेको जनाउँदै ती पदमा पोखराबाटै पर्यटन क्षेत्रका जानकार एवं सक्रिय व्यक्तित्वलाई नियुक्त गर्न आग्रह गरिएको छ।
पोखरा पर्यटन परिषद्ले पर्यटन मन्त्रीलाई बुझाएको अनुरोध पत्रमा विश्व पर्यटन बजारमा नेपालको पोखरा सहर स्थापित भइसकेको अवस्थामा पोखरालाई पर्यटनको राजधानी समेत घोषणा भइसकेको र पर्यटनको राजधानी स्थापित गर्न आवश्यक पूर्वसर्तको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ।
‘नेपालको पर्यटकिय राजधानी पोखराले यतिबेला पोखरा भ्रमण वर्ष २०२५ समेत घोषणा गरी विभिन्न कार्यक्रमहरु अगाडी सारेको स्मरण गराउँदै यस समय हामीलाई अभिभावक चाहिएको छ,’ पोखरा पर्यटन परिषद्ले भनेको छ, ‘जसबाट हाम्रो व्यवसायको प्रर्वद्धन र विकासमा भूमिका खेल्न सकोस्। त्यसैले मुलुकको जिम्मेवार मन्त्रीज्यूले लिने नीति, दिने निर्देशन र गर्ने कामबाटै नविनतम उर्जा पाउँन सकिन्छ भन्ने हाम्रो विश्वास छ।’
६ खर्बभन्दा बढी निजी क्षेत्रबाट लगानी रहेको पोखराबाट नेपाल पर्यटन बाेर्डमा प्रतिनिधित्व नरहेको वर्तमान अवस्थामा देशकै पर्यटकिय राजधानीको रुपमा घोषणा भईसकेको यस क्षेत्रबाट हाल रिक्त हुन लागेका कार्यकारी बोर्ड सदस्यमा पोखरामा नै प्रत्यक्ष लगानी गरी पर्यटन व्यवसाय सञ्चालन गरी रहका व्यवसायीमध्येवाट पोखराको प्रतिनिधित्व सुनिश्चित्तता गर्न समेत अनुरोध गरिएको छ।
पोखरा सहर विश्व पर्यटन बजारमा पहिचान बनाइसकेको र सरकारले पोखरालाई पर्यटन राजधानीको रूपमा घोषणा गरिसकेको सन्दर्भमा अबका नीतिगत निर्णयमा पोखराको सशक्त उपस्थिति अपरिहार्य भएको व्यवसायीहरूको भनाइ छ।