काठमाडौं। मूल ढोकाबाट भित्र पस्दै गर्दा नेपाली शिल्पकलाले तपाईंलाई स्वागत गर्छ। परम्परगत पोशाकमा सजिएका कर्मचारीको आतिथ्यताबाट नेपाली कला र संस्कृति बुझ्न सकिन्छ। पहिलो तलादेखि नेवारी शिल्पकलाको बेजोड प्रस्तुति देखिन्छ।
होटलका थाम, कुर्सी, कुसनमा तपाईंले नेपालीपन भेट्नु हुन्छ। होटलका रुपमा देखिने टुँडाल, फाल्चा, आँखीझ्याललगायतका नेपाली कलाकृतिले जोकोहीलाई मोहित बनाउँछ। लबिम कर्नर ब्रू क्याफे रहेको छ।
ठमेल नरसिंह चोकमा केही दिनअघि सफ्ट ओपनिङ गरिएको आर्या होटल एण्ड स्पाले साँचो अर्थमा नेपाली कला, संस्कृति र आतिथ्यता पस्किरहेको देख्न र अनुभव गर्न सकिन्छ। होटलमा १६०० डलरदेखि १६ सय डलरसम्मका विभिन्न वर्गका रुमहरू छन्। बाथरुम हार्डवयरमा एन्टिक सेलेक्सनलाई रोजिएको छ।
जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको एकल स्वामित्वमा रहेको होटल सञ्चालनमा ल्याएका हुन्।
'म जापानमा बस्दा यो कुरा सिक्ने मौका पाएको थिए, उनीहरूलाई आफ्नो कला र संस्कृतिलाई लामो समयदेखि जोगाइराखेका छन्,' उनले भने, 'मलाई पनि नेपाल गएर केही गर्नुपर्छ भन्ने सोचले होटल निर्माण सुरु गरेँ।'

सिम्खडाका अनुसार ठमेल विदेशमा नेपाल चिनाउने माध्यम हो। नेपाल आउने सबैजसो पर्यटक ठमेल नपुगी फर्कँदैनन्। नेपालबाट स्वदेश फर्कँदै गर्दा उनीहरूले नेपाली कला र संस्कृतिको अनुपम अनुभव लिएर फर्किन पाउन भन्ने उद्देश्यले आफ्नै सोचमा होटल निर्माण गरेको उनको भनाइ छ।
होटलको लबिमा मयुर झ्याल र देशमरु झ्यालको मिश्रणसहितको उत्कृष्ट काष्टकला देख्न सकिन्छ। पाहुनालाई स्वागत गर्नका लागि पनि नेपाली परम्परालाई अंगालिएको छ, ताकी आगन्तुकले नेपाली आतिथ्यता अनुभव गर्न सकुन्।
सिम्खडाका अनुसार करिब २० आना जग्गामा निर्माण भएको होटलमा जग्गासहित दुई अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको छ। 'विदेशका चिल्ला होटल हेर्न त सबै आउँछन्, तर नेपाली कला र संस्कृति झल्कने होटल निर्माण गर्न सकियो भने यसले हाम्रो संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्छ भन्ने विश्वास छ,' उनले भने।
७२ वटा रुम भएको होटलमा ४१ वटालाई आर्या डिलक्स रुम छन्, जसलाई आधुनिक र परम्परागत गरी दुई शैलीमा डिजाइन गरिएको छ। परम्परागत शैलीमा डिजाइन गरिएको रुममा नेपाली कला बढी देख्न सकिन्छ। पाहुनालाई सोहीअनुसारको अनुभव दिलाउनका लागि काठको बुट्टे फ्रेममा विभिन्न पेन्टिङ देख्न सकिन्छ।
होटलमा ज्याकुजीको सुविधासहित २९ वटा आर्या स्वीट रुम छन्। प्रत्येक स्वीट रुममा सिटिङ एरियामा सोफाको सट्टा बस्नका लागि फाल्चा निर्माण गरिएको छ। बायुपङ्खी घोडा कुँदिएको टुँडाल पनि देख्न सकिन्छ। दराजमा आँखीझ्यालको कला कुँदिएको छ। त्यसबाहेक केही रुममा काठबार सहितको बार्दलीको पनि सुविधा छ।
होटलमा भएको एक्जुकेटिभ स्वीट विशेष छ। ६५ वर्गमिटरको रुममा इनबिल्ड टेलिभिजनसहितको ज्याकुजीको सविधा पाइन्छ। त्यसबाहेक रुमभित्रै साउनाको मज्जा लिन सकिने छ। नेपाली शैलीमा निर्माण गरिएका बेडरुममा पनि काष्ठकला पोखिएका छन्।
होटलमा करिब १०० वर्गमिटरको प्रेसिडेन्सियल स्वीट रुम छ। यसभित्र मास्टर बेडरुमसहितको इन्टर कनेक्टिङ बेडरुम छ। किचन, डाइनिङ रुम, प्राइभेट बार, इनबिल्ड टेलिभिजनसहितको ज्याकुजी, साउनाको सुविधा प्रेसिडेन्सियल स्वीट रुमभित्रै उपलब्ध छन्।
होटलका हेरिटेज रुमहरुमा भक्तपुरमा निर्माण गरिएको तेलिया इँटा बिछ्याइएको छ। परम्परागत शैलीको कोठामा ऐनाको फ्रेमदेखि दराजको ढोकामा काष्ठकला देख्न पाइन्छ। पाहुनाका सबै रुममा फ्रेन्च फ्रेस कफीको व्यवस्था गरिएको छ। होटलका रुमहरु स्वयम्भु, धरहरा र सिटी भ्यू हुने गरी तयार गरिएको छ।

होटलको पहिलो तलामा करिब २५ जना बस्न मिल्ने हल छ भने ११औँ तलामा पनि करिब ७० जना अट्ने सभाहल निर्माण गरिएको छ।
स्काइ वकसहितको लाउञ्ज र वेलनेस
होटलको १२औँ तलामा १०० जना बढी अट्ने क्षमताको सोरा नामक अल डे डाइनिङ रेष्टुरेन्ट छ। त्यसैको छेउमा 'स्काइ लाइन सोरा' पनि छ। सोरा स्काइ लाइनको सिसामा स्काइ वाकको मजा लिँदै डिनर गर्न सकिन्छ।
हाल होटलले सोरा स्काइ लाइन विशेष गरी डिनरका लागि पनि खुला गरिनेछट जनाएको छ। जहाँ ५० जना अट्न सक्ने क्षमताको बनाइएको छ।
होटलको सबैभन्दा माथिल्लो तलामा द थर्टिन्थ रिट्रिट नामको ३६० डिग्री भ्यूको लाउञ्ज छ। जहाँबाट एकैसाथ स्वयम्भू बौद्धनाथ, धरहरालगयत काठमाडौं वरपरका डाँडासहित लगभग पूरै काठमाडौं सहर देख्न सकिन्छ। होटलको नवौं तल्लामा नाइन्थ वेभ नामाकरण गरिएको बार छ।
होटलले आवासीय र स्थानीय पाहुनाका लागि सुविधा सम्पन्न स्पाको सुविधा उपलब्ध गराएको छ। महिला र पुरुषका लागि अलग-अलग कोठामा साउन, स्टिम निर्माण गरिएका छन्। स्वयम्भूको दृश्य हेर्दै स्पामा रहेको ज्याकुजीको आनन्द लिन सकिन्छ। स्पामा अनुभवी थेरापिस्ट छन्। वेल इक्युप जिम हल निर्माण गरिएको छ।
होटलको नवौं तल्लामा टेम्प्रेचर मेन्टेन्ड स्वीमिङ पुल छ। स्वीमिङ पुलसँगै एकै साथ आठ जना बस्न मिल्ने आउटडोर ज्याकुजी छ।