काठमाडौं। वर्षौंको अनुपस्थितिपछि ठूला व्यवसायिक घरानाले बिक्री गर्ने टोयोटा, माज्दा, निसान र मित्सुबिसु अटो शोमा सहभागी हुने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको ‘नेपाल मोबिलिटी एक्सपो २०२५’मा लामो समयपछि यी सवारी साधनको सहभागी हुने भएको हो।
सर्वाधिक सफल ब्राण्डको रुपमा स्थापित टोयोटा लामो समयदेखि नाडा अटो शोमा सहभागी भएको थिएन। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नयाँ मोडलका गाडीहरु नभएका कारण नाडा अटो शोमा सहभागी नभएको जनाउँदै आएको थियो। डिजेल/पेट्रोलमा स्थापित ब्राण्ड टोयोटा कोभिडपछि नाडा अटो शोमा सहभागी नभएको हो।
सन् २०१९ को अटो शोपछि टोयोटा अटो शोमा सहभागी भएको छैन। तर, यस पटक नाइमाले आयोजना गर्ने पहिलो संस्करणको अटो शोमा भने टोयोटा सहभागी हुने भएको हो। यसै वर्ष औपचारिक रुपमा गठन भएको नाइमाको अध्यक्ष टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिकी प्रबन्ध निर्देशक ऋतु वैद्य हुन्।
कम्पनीले आफू पुरानो स्थापित ब्राण्ड भएकाले नाडा अटो शोमा सहभागी नभएको बताउँदै आए पनि हाल आफै अध्यक्ष भएको कारण टोयोटालाई सहभागी हुनुपर्ने बाध्यता रहेको छ। टोयोटाले प्रदर्शनीको लागि न्यू मोडल नभएकाले सहभागी नभएको बताउँदै आएको थियो। अहिले पनि टोयोटासँग पुरानै लाइनअपका ल्याण्डक्रुजर, प्राडो, फर्चुनर, र्याभफोर, कोरोला क्रस, हाइलक्स र राइजलगायतका मोडल मात्रै छन्। यी सबै मोडल निकै पहिलादेखि बजारमा छन्।
माज्दा
जापानी ब्राण्ड माज्दा २०१९ को नाडा अटो शोमा सहभागी भएको थियो। त्यसबेला माज्दा गाडीको नेपालका लागि आधिकारिक वितरक पद्यश्री प्राली थियो। २०२० मा माज्दा गाडीको लागि नेपालको आधिकारिक वितरक परिवर्तन भएर पारामाउन्ट मोटर्सले पाएसँगै माज्दा गाडी कुनै पनि नाडा अटो शोमा सहभागी भएको थिएन।
विशाल ग्रुपअन्तर्गत रहेको पारामाउन्ट मोटर्सले एमजीलगायतका ब्राण्ड नाडा अटो शोमा प्रदर्शनी गरे पनि माज्दा भने सहभागी भएको थिएन। तर, २०२५ मा पहिलो पटक आयोजना हुन लागेको नाइमा अटो शोमा माज्दा सहभागी हुने भएको छ।
मित्सुबिसी
विगत लामो समयदेखि नाडा अटो शोमा सहभागी नभएको ब्राण्ड मित्सुबिसी यस वर्षको नाइमा अटो शोमा सहभागी हुने भएको छ। नेपालका लागि मित्सुबिसी गाडीको आधिकारिक वितरक लियोन मोटर्स प्रालि हो। मित्सुबिसी २०१९ को नाडा अटो शोमा एल २०० पिकअप र लेन्सर इभोलुसन लगायतका मोडलहरु नाडा अटो शोमा प्रदर्शनी गरेको थियो।
त्यसयता आयोजना भएको २०२३ र २०२४ को नाडा अटो शोमा भने मित्सुबिसी सहभागी भएको थिएन। हाल गाडी आयातकर्ताहरुको नयाँ संस्था गठन भएकाले मित्सुबिसी नाइमा अटो शोमा सहभागी हुने भएको छ।
निसान
सारडा ग्रुपअन्तर्गत रहेको निसान गत वर्षको नाडा अटो शोमा भने सहभागी भएको थिएन। नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्प हो। पायोनियर मोटोकर्प २०२३ को नाडा अटो शोमा निसान गाडी प्रदर्शनी गरेको थियो। तर, २०२४ को नाडा अटो शोमा भने निसान सहभागी भएन। तर, नाइमाले आयोजना गर्न लागेको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा भने निसान सहभागी हुने भएको छ।
टाटा, सिजी र एमएडब्लु वृद्धि सहभागी नहुने
आगामी साउन २१ गते देखि २५ गतेसम्म नाइमाले आयोजना गर्न लागेको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’मा चार पांग्रे सवारी साधन ब्राण्डमा सिजी मोटर्स, सिप्रदी ट्रेडिङ र एमएडब्लु वृद्धि सहभागी हुने छैन भने दुई पांग्रे सवारी साधन बिक्री गर्ने ठूलामध्येको ब्राण्ड सिजी र यामाहाले पनि नाइमा अटो शोमा सहभागिता जनाउने छैन।
नेपालमा सिजी मोटर्सले १० ब्राण्डका सवारी साधनहरु आयात तथा बिक्री गर्दै आएको छ। सिजीले नेपालमा नेटा, आयोन, अवतार, एक्सपेङ, दायुन, रिडारा, स्मार्ट र कमर्सियलमा केवाइसि, किङलङ आयात तथा बिक्री गर्दै आएको छ भने दुई पांग्रेमा हिरो बाइक तथा स्कुटर बिक्री गर्दै आएको छ।
त्यस्तै, एमएडब्लु वृद्धिले नेपालमा दिपल, सेरेस, नामी, जीप, स्कोडा र कमर्सियलमा फोटोन, सोकोन ब्रान्डका गाडीहरु बिक्री गर्छ भने दुई पांग्रेमा यामाहाका बाइक तथा स्कुटर बिक्री गर्दछ।
कमर्सियल र प्यासेञ्जर भेहिकलमा ठूलो प्रभाव पर्ने व्यवसायीक घराना सिप्रदी ट्रेडिङ नाइमा अटो शोमा सहभागी नहुने भएको छ।
अटो शो’मा नाडासँग प्रतिस्पर्धा
अटो क्षेत्रमा दुई संस्था हुँदा यस क्षेत्रले आयोजना गर्दै आएको ‘अटो शो’बारे पनि प्रतिस्पर्धा हुनसक्ने देखिएको छ। नाडा अटो शो पहिलोपटक सन् १९९८ मा भएको थियो। सो वर्ष २६ वटा स्टलबाट सुरु भएको नाडा अटो शो २०२४ मा १३० वटा स्टलमा विस्तार भइसकेको छ।
गत वर्षको अटो शोमा २३ वटा चार पांग्रे र १९ वटा दुई पांग्रेका सवारी साधन प्रदर्शनीमा रहेका थिए। हरेक वर्ष नाडाले भदौमा अटो शो गर्दै आएको थियो। नेपालमा एउटा मात्रै अटो शो हुने गरेकोमा २०२५ बाट २ वटा ठूला अटो शो हुने भएका छन्।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले आगामी साउनमा आयोजना गर्न लागेको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को सबै स्टल बुक भएको छ। काठमाडौंको भृकुटीमण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी गर्ने बताएको नाइमाले सबै स्टल बुक भएको र बुकिङ ओभर भएर ‘वेटिङ’ मा समेत रहेको जनाएको छ।
प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास नाइमाले दिलाएको छ। यसै वर्ष औपचारिक रुपमा गठन भएको नाइमाले पहिलो वर्ष नै मोबिलिटी एक्सपो गर्न लागेको हो। विगतमा हुँदै आएको भन्दा पृथक र भव्य मोबिलिटी शो हुने दाबी नाइमाले गरेको छ।
२०२५ बाट पहिलो पटक सुरु हुन लागेको नाइमा अटो शोमा अधिकांश दुई पांग्रे र चार पांग्रे सवारी साधनका प्रदर्शनी हुने देखिएको छ। अधिकांश ब्राण्ड नाइमा अटो शोमा सहभागी हुने भएकाले नाडा अटो शोको प्रभाव खासै नहुने देखिएको छ।