सन् २०२० मा दादुरा निवारण गर्ने लक्ष्य पूरा हुन नसकेपछि तीन वर्ष पछि सारिएको छ। कोभिड–१९ महामारीका कारण पनि दादुरा उन्मूलनमा सकस देखिएको हो। दादुरा अन्त्यन्त संक्रामक हो। यो रोग बिरामीले खोक्दा वा हाच्छियुँ गर्दा निस्कने थुक वा सिँगानका छिटा हावाको माध्यम हुँदै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। दादुराले निमोनिया, अन्धोपना, हाडजोर्नी सुन्निने, बहिरोपन र मेनेन्जाइटिससम्म गराउन सक्छ।
पाँच वर्षमुनिका बालबालिकामा संक्रमण देखिने यो रोग ४२ वर्षअगाडि निकै डरलाग्दो देखिएको थियो। दादुराविरुद्धको खोप उपलब्ध हुनुअघि प्रायः सबै बालबालिकालाई यो रोग लाग्थ्यो र बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये दादुरा एक थियो। विश्वभर हुने बालबालिकाको मृत्युमध्ये १.५ प्रतिशत बालबालिकाको मृत्यु दादुराका कारण हुने गरेको थियो।
२०३४ मा बिफर उन्मूलन भइसकेपछि सरकारले खोपका कारण विभिन्न संक्रामक रोगबाट जोगाउन सकिन्छ भनेर नियमित खोप कार्यक्रम सुरु गरेको थियो। त्यतिबेला सिन्धुपाल्चोक, रुपन्देही र धनुषाबाट खोप अभियान सुरु गरिएको थियो। चार वटा रोगविरुद्ध खोप अभियान सुरु गरिएकोमा दुई वर्षपछि २०३६ सालदेखि दादुराको खोप लगाउन थालिएको हो। दादुराको खोप २०४५ सालमा मात्रै देशका सबै जिल्लामा पुर्याउन सकिएको थियो।
२०३६ मा दादुराको खोप सुरु गर्नुअघि पनि बालमृत्यु दर गराउने कारणमध्ये दादुराको कारण प्रमुख मानिन्थ्यो।
नेपालमा मात्रै होइन दक्षिण एसियाका अन्य देशमा पनि दादुरा उन्मूलनको लक्ष्य पूरा हुन नसकेपछि विश्व स्वास्थ्य संगठनले २०२३ मा दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार हामीले पनि नियमित खोपले मात्रै दादुराको संक्रमण घटाउन नसकेको निष्कर्ष निकाल्दै २०६० सालमा खोप अभियान सुरु गर्यौं। यो पहिलो खोप अभियान थियो। अभियानपछि दादुराको बिरामीको संख्या ह्वात्तै घटेको छ। त्यसपछि नियमित रुपमा खोप लगाइरहेका छौं। अहिले संक्रमणदर घट्न थालेको छ भने मृत्यु नगन्य मात्रामा छ।
हामीले नियमित खोप कार्यक्रम सञ्चालन गरिरहेका छौं भने पाँचवटा अभियान सञ्चालन गरिसकेका छौं। नेपालमा दादुरा–रुबेला निवारण गर्ने रणनीतिअनुरुप २०७६/२०७७ मा पाँचौं खोप अभियान गरिएको थियो। तर खोप अभियान सञ्चालन हुँदाहुँदै कोभिड–१९ महामारी फैलियो। लकडाउनका कारण खोप अभियान प्रभावित भयो। जसले गर्दा दादुरा निवारणको लक्ष्य पूरा हुन सकेन।
नेपालमा मात्रै होइन दक्षिण एसियाका अन्य देशमा पनि दादुरा उन्मूलनको लक्ष्य पूरा हुन नसकेपछि विश्व स्वास्थ्य संगठनले २०२३ मा दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको छ।
नेपालमा अहिले दादुराको फाट्टफुट्ट केस देखिए नियन्त्रण गर्न सकिएको अवस्था छ। जुन बालबालिकाले पूरा मात्रा खोप पाएका छैनन् उनीहरुलाई दादुराको समस्या छ।
सरकारको लक्ष्य सबैलाई खोप लगाउने भए पनि विभिन्न कारणले बालबालिका खोप लगाउन छुटिरहेका हुन्छन्। दादुरा–रुबेलाको खोप दुई पटक लगाइन्छ। पहिलो डोज बच्चा नौ महिनाको हुँदा र दोस्रो डोज बच्चा १५ महिनाको हुँदा। तर खोपको कभरेज ८० प्रतिशत मात्रै छ। २० प्रतिशत बालबालिका अझै दादुराको खोप लगाउन छुटिरहेका छन्। छुटेका बालबालिकालाई समेट्न हामीले अभियान सञ्चालन गर्दै आएका छौं।
पछिल्लो तीन वर्षको तथ्यांकअनुसार २०७५/०७६ मा पाँच लाख १९ हजारले पहिलो मात्रा र उनीहरुमध्ये चार लाख ४५ हजारले मात्र दोस्रो मात्रा खोप लगाएका छन्। त्यस्तै, २०७६/७७ मा चार लाख ९३ हजारले पहिलो मात्रा र चार लाख २६ हजारले मात्र दोस्रो मात्रा लगाएका छन्।
गत वर्ष पाँच लाख बालबालिकालाई पहिलो मात्रा लगाइएको थियो भने चार लाख ७६ हजारले दोस्रो मात्रा लगाए। पहिलो मात्रा लगाएर दोस्रो मात्रा नलगाउने पनि छन्। जसको कारण मानिसको हेलचेत्र्mयाइँ हो कि भन्ने देखिन्छ।
खोप छुटेको बालबालिकाको संख्या २० प्रतिशत हाराहारी भएपछि गत वर्षदेखि हामीले डिले सेडुल पास गर्यौं भने बहुवर्षीय खरिद योजना पारित गरियो। डिले सेडुल भनेको पाँच वर्षसम्म पनि छुटेका बालबालिकालाई लगाउन मिल्ने गरी बनाइएको तालिका हो।
सेडुल निर्माणपछि पाँच वर्षका बालबालिकालाई दादुराको खोप लगाउन मिल्ने भएको छ। जसमा १५ महिनासम्म पनि खोप नलगाएका बालबालिकालाई पाँच वर्ष नपुग्दासम्म एक महिनाको फरकमा दुई मात्रा दिने योजना बनाइएको छ। हामीले पाँच वर्षका बालबालिकाले पनि खोप नलगाएको थाहा पाएपछि सो सेडुल पारित गरेका हौं।
सन् २०१६ को राष्ट्रिय जनसांख्यिक सर्वेक्षणअनुसार खोप सुरु गर्ने बालबालिका ९९ प्रतिशत भए पनि पूर्ण खोप लगाउने ७८ प्रतिशत मात्रै देखिएको छ भने एउटा पनि खोप नपाउने १ प्रतिशत देखिएको छ। बालबालिका खोप लगाउनबाट किन छुटे भन्ने छुट्टै अध्ययन त भएको छैन तर हाम्रो अनुमान के छ भने खोपको पहुँच पुगेन। नेपालमा १६ हजार केन्द्रबाट खोप लगाइन्छ। तर पनि कतिपय मानिसलाई खोप केन्द्रको जानकारी नहुनु, खोपप्रतिको अनभिज्ञता हुनु, सूचना नहुनु र मानिसको खोपप्रति नकरात्मक धाराणालगायतका कारण सबैमा पहुँच पुग्न सकेको छैन।
९५ प्रतिशतभन्दा माथि खोप लगाउन सक्यौं भने मात्र दादुरा निवारणको सफलतातर्फ पुग्यौं भन्न सकिन्छ। अवस्था अनुकूल भए दुई वर्षभित्र दादुरा उन्मूलन गर्ने लक्ष्य पूरा हुनेछ।
बालबालिकालाई पूर्ण मात्रामा खोप दिन सूचना पुर्याउन आवश्यक छ भने पहुँचलाई विस्तार गर्नुपर्ने देखिन्छ। साथै, सरकारले खोप नलगाएका बालबालिकाको खोजी गर्न आवश्यक छ।
खोज र खोपाऊ
गत वर्ष पनि देशभर ३६६ जनामा दादुरा संक्रमण देखिएको थियो। प्रदेश २ मा एक सय ५० जना दादुराका बिरामी थिए। प्रदेश १ मा ३२ जना, बागमतीमा ९४ जना, गण्डकीमा १४ जना, लुम्बिनीमा ६८ जना, कर्णालीमा ७ जना र सुदूरपश्चिममा १ जना दादुराका बिरामी देखिएका थिए।
हरेक वर्ष खोप ल्याउँदा हुने कठिनाइ चिर्न बहुवर्षीय खरिदको निर्णय गरिएको हो। यसले हामीलाई खोप खरिदमा पनि सहज हुने अपेक्षा छ। एकैपटक तीन वर्षका लागि खोप खरिद योजना बनाउने र बोलपत्र आह्वान गर्ने निर्णय गरिएको छ। ९५ प्रतिशतभन्दा माथि खोप लगाउन सक्यौं भने मात्र दादुरा निवारणको सफलतातर्फ पुग्यौं भन्न सकिन्छ। अवस्था अनुकूल भए दुई वर्षभित्र दादुरा उन्मूलन गर्ने लक्ष्य पूरा हुनेछ।