काठमाडौं। उरुग्वेका पूर्वराष्ट्रपति जोसे ‘पेपे’ मुजिका पूर्वछापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीका नायकको ८९ वर्षको उमेरमा निधन भएको छ।
देशका वर्तमान राष्ट्रपति यामान्दु ओर्सीले एक्समा भने, ‘गहिरो दुःखका साथ हामी हाम्रा कमरेड पेपे मुजिकाको निधनको घोषणा गर्दछौँ। हामी तपाईलाई एक पुरानो साथी, राष्ट्रपति, कार्यकर्ता, मार्गदर्शक र नेताका रुपमा धेरै याद गर्ने छौँ।’
मुजिकाले सन् २०१०-२०१५ को राष्ट्रपति कार्यकालमा आफ्नो धेरै जसो तलब परोपकारका लागि दान गरेका थिए। साधारण जीवनशैली अपनाएर ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’का रूपमा प्रसिद्धि कमाए।
उनले फुटबल र गाईको मासुका लागि परिचित ३४ लाख जनसंख्या भएको उरुग्वेलाई भ्रष्टाचार र शक्तिशाली शासनले पीडित महादेशमा प्रगतिशील राजनीतिको गढमा रूपान्तरण गरेका थिए।
सन् २०२४ मे महिनामा उनलाई अन्नप्रणालीको क्यान्सर भएको पत्ता लागेको थियो। जुन पछि उनको कलेजोसम्म फैलियो। उनकी श्रीमती लुसिया टोपोलान्स्कीका अनुसार यस हप्ता उनले पोलिएटिभ हेरचाह प्राप्त गरिरहेका थिए।
उनको निधनमा ल्याटिन अमेरिका र बाहिरका वामपन्थी नेताहरूबाट श्रद्धाञ्जलि व्यक्त भएका छन्। बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेसले आफ्ना ‘भाइ’ मुजिकाको निधनबाट दुःखी भएको बताए।
आफ्नो छोटो शासनकालमा मुजिकाले गर्भपतन र समलिंगी विवाहलाई वैधानिक बनाएका थिए। उरुग्वेलाई मनोरञ्जनात्मक गाँजाको प्रयोगलाई वैधानिक बनाउने विश्वको पहिलो देश बनाए।
जेलबाट राजनीति
ठाडो कुरा गर्ने, हिउँ-जस्तै सेतो कपाल भएका राजनीतिज्ञ उपभोक्ता संस्कृतिका कट्टर आलोचक थिए। राष्ट्रपतिका रूपमा उनले कार्यालयका सुविधाहरू अस्वीकार गरे।

उनी आधिकारिक कार्यक्रममा चप्पल लगाएर जान्थ्ये। मोन्टेभिडियोको बाहिरी क्षेत्रमा आफ्नो सानो फार्ममा बसे। त्यहाँ उनको मूल्यवान सम्पत्ति सन् १९८७ को फोक्सवागन बिटल कार थियो।
सन् १९६० को दशकमा उनले माक्र्सवादी–लेनिनवादी सहरी छापामार आन्दोलन टुपामारोसको सह–स्थापना गरेका थिए। उक्त आन्दोलनले गरिबलाई दिन धनीबाट लुटपाट गर्न थाल्यो। तर पछि यसको अभियानलाई अपहरण, बम विस्फोट र हत्यामा विस्तार भयो।
उनी उरुग्वेको सन् १९७३-१९८५ को तानाशाही शासन कालमा पूरै जेलमा जीवन बिताएका थिए। त्यहाँ उनलाई यातना दिइयो र वर्षौं एकान्त कारावास भोगे।
रिहा भएपछि उनी राजनीतिमा प्रवेश गरे। सन् १९८९ मा वामपन्थी ब्रोड फ्रन्ट गठबन्धनको सबैभन्दा ठूलो सदस्य मुभमेन्ट अफ पपुलार पार्टिसिपेसन (एमपिपि)को स्थापना गरे।
सन् १९९५ मा संसद्मा निर्वाचित भए। सन् २००० मा सिनेटर र त्यसपछि उरुग्वेको पहिलो वामपन्थी सरकारमा कृषिमन्त्री बने। उनले उरुग्वेको कार्यकाल सीमाअनुसार केवल पाँच वर्षे कार्यकाल राष्ट्रपतिको रूपमा सेवा गरे। उनका कुनै सन्तान छैन।