धनगढी- कोभिड–१९ का कारण लामो समयदेखि बन्द भएका सुदूरपश्चिमका नाकाहरु पूर्ण रुपमा सञ्चालनमा आएका छन्। असोज ११ गते बसेको संघीय मन्त्रिपरिषद्को बैठकले विभिन्न मापदण्ड पूरा गरेर भारतीय निजी सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेपछि सुदूरपश्चिमका गौरीफन्टासहित तीन नाका पूर्णरुपमा सुचारु भएका हुन्।
नाका पूर्णरुपमा खुलेपछि अब भारतीय निजी गाडीमा लगाइएको रोक पनि हटेको छ। कोभिड–१९ का कारण डेढ वर्षदेखि आंशिक रुपमा सञ्चालन भइरहेका नाकामा भारतीय गाडीमा रोक लगाइएको थियो।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आइतबारबाट निर्वाध रुपमा गाडी सञ्चालन भइरहेको बताए। ‘जसरी भारतीय नम्बर प्लेटका गाडी नेपाल भित्रिन्छन् त्यसरी नै नेपाली नम्बर प्लेटका गाडी पनि भारत जान पाउछन्,’ उनले भने, 'कोभिड–१९ अघिको समय जस्तै आवागमन चल्छ।’
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राजप्रसाद पाण्डेले पनि भारतीय सीमा बजारमा निर्वाध रुपमा नेपाली गाडीमा जान पाइने बताए।
भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकले भने विभिन्न मापदण्डहरु पूरा गर्नुपर्ने प्रावधान बनाइएको उनले बताए। नेपाल प्रवेश गर्ने भारतीय नागरिकसँग ७२ घण्टाभन्दा पहिलेको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने, कोभिड संकट व्यवस्थापन केन्द्रको साइटमा प्राप्त हुने फर्म भरेर त्यसको प्रिन्टकपी हुनुपर्ने र कोरोनाको दुई डोज खोप लगाएको कार्ड साथमा हुनुपर्ने मापदण्ड तोकिएको छ।
कोभिड–१९ संक्रमण अघि सुदूरपश्चिमका दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरका खक्रौला, त्रिनगर र गड्डाचौकी नाका भएर सीमा बजारमा नेपाली गाडीमै आवागमन हुने गरेको थियो भने भारतीयहरु पनि भारतीय नम्बर प्लेटका गाडीमै यहाँका बजारसम्म आवागमन गर्ने गरेका थिए । तर, कोभिड–१९ संक्रमण फैलिएपछि भने गाडी आवातजावतमा रोक लगाइएको थियो ।