लखनऊ- भारतमा नक्कली परिचयपत्र र अवैध धर्मान्तरणमा संलग्न भएको भन्दै ४० वर्षीय नेपालीलाई फतेपुरबाट प्रहरीले पक्राउ गरेको छ।
महोत्तरी घर भएका मौलाना हाफिज फिरोज आलमलाई प्रहरीले बिहीबार पक्राउ गरेको भारतीय समाचार संस्था इण्डियन एक्सप्रेसले जनाएको छ। उनीसँगै अन्य दुईजनाको पनि प्रहरीले खोजी गरिरहेको छ।
नक्कली परिचयपत्र बनाउन र धर्म परिवर्तन गर्नका लागि सहयोग गर्ने अन्य दुईजनालाई पनि प्रहरीले खोजिरहेको जनाइएको छ।
जाफरगञ्व प्रहरी वृतका प्रमुख दिनेशचन्द्र मिश्राले आलमलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिएका छन्। गाजिपुर प्रहरीचौकीका निरज यादवले उनको साथबाट नक्कली प्यान कार्ड, परिचयपत्र, आधर कार्ड, सवारी चालक प्रमाणपत्र, पासपोर्ट बरामद गरिएको जनाएका छन्।
आलम फतेपुर मस्जिदका पूर्व इमाम हुन्। उनी अवैध धर्मान्तरणमा संलग्न भएको पाइएको भारतीय प्रहरीले जनाएको छ। उनीविरुद्ध आईपीसी सेक्सन ४२० (ठगी तथा गलत तरिकाबाट सम्पत्ति आर्जन गरेको), ४६७ (महत्वपूर्ण सुरक्षामा खलल पुर्याएको) अन्तर्गत मुद्दा चलाइएको छ।
उनीविरुद्ध धर्म परिवर्तनविरुद्धको मुद्दा पनि आकर्षित हुने बताइएको छ। प्रहरी अधिकारी यादवका अनुसार आलम सन् २००१ देखि भारतमा बस्दै आएका थिए। उनलाई केही वर्षअघि गाजीपुर मस्जिदको इमाम बनाइएको थियो।
उनी आफ्नो परिवार र दुई वटा छोरीलाई भेट्न पटक-पटक नेपाल जाने गरेकोसमेत बताइएको छ। गत वर्ष कोभिडका कारण उनी नेपाल फर्किएपछि मस्जिदको इमामबाट हटाइएका थिए।