काठमाडौं। भारतका प्रतिष्ठित बाबा निरञ्जने अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरी करिब २ साता नेपाल बसेर केही दिनअघि मात्र फर्किए।
उनी नेपालमा रहँदा नेपालमा प्रमुख धार्मिक स्थल पशुपतिनाथदेखि मुक्तिनाथसम्म दर्शन गर्न पुगे। उनी नेपालमा आउँदा सरकारले उच्चस्तरको सुरक्षासमेत दिएको थियो। अर्थात्, उनको अनौपचारिक भ्रमणलाई सरकारले विशेष प्राथमिकतामा राखेकाे देखियाे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिएका स्वामी कैलाशानन्दसँग राजनीतिक दलका नेतादेखि प्रतिष्ठित उद्योगी व्यवसायीले भेटे आशीर्वादसमेत लिए।
हुन त, भारतीय बाबाहरू नेपालमा आउँदा स्वागत र दर्शन गर्न लर्को लागेको पहिलो घटना भने हैन। यसअघि आएका बाबाहरुको स्वागत र आशीर्वाद लिन जाने नेता र उद्योगी व्यवसायीको लर्को यसअघि पनि लाग्ने गरेको छ। यति मात्र हैन, भारतमा पनि बेलाबेलामा उद्योगी व्यवसायी बाबाहरुको आश्रममा गएर ध्यान गर्ने र भेटेर आशीर्वाद लिने क्रम चलिरहन्छ।
किन पुग्छन् उद्योगी व्यवसायी बाबाको शरणमा?
उद्योगी शशिकान्त अग्रवालले अनिश्चितताको भूमरीमा फसेको बेला धेरै व्यवसायी धर्मकर्ममा बढी लाग्ने र बाबाहरुको दर्शनमा निस्कने गरेको बताउँछन्।
‘कुनै पनि कुरामा बढी अनिश्चिता हुन्छ, तब ध्यान र धर्मतिर लाग्छन्,’ उद्योगी अग्रवालले भने, ‘हामी उसै पनि सनातन धर्म मान्ने भएकाले धर्ममा विश्वास गर्छौं, अग्रवालले भने, जो राम्रो छ, उहाँहरुको ध्यानमा र शरणमा पुग्छौं। यसले मनमा शान्ति मिल्छ र जोश जाँगर बढ्छ।’
बाबाहरु आउँदा मात्र हैन, नेपालमा हुने धार्मिक कार्यक्रम र धार्मिक स्थलमा समेत धेरै व्यवसायी पुग्ने गरेका छन्। केही महिनाअघि भारतमा सञ्चालनमा रहेको कुम्भ मेलामा समेत धेरै व्यवसायी पुगेका थिए। यस्तै हरेक महिनाजसाे विभिन्न ठूला धार्मिक स्थलमा पुग्ने र ध्यान, धर्म गर्ने गरेका छन्।
निरञ्जने अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरी नेपाल भ्रमणमा रहँदा केही उद्योगी व्यवसायीको घरमा समेत पुगे। प्रतिष्ठित उद्योगी शशिकान्त अग्रवाल, उद्योगपति विदोनकुमार चौधरी, व्यवसायी पवन भिमसरिया र भैरहवाका व्यवसायी राजेश अग्रवालको घरमै पुगेर आशिर्वाद दिए।
राजेश अग्रवालले सामाजिक सन्जालमा बाबाको तस्बिर राख्दै भनेका छन्, ‘उहाँको आगमनले मेरो घर नै पवित्र भयो।’ आफूले आस्था र विश्वास गरेको बाबालाई आफ्नै घरमा पाउँदा खुसी लागेको छ।’
‘हामी जब समस्यामा हुन्छौं, त्यो बेला बाबालाई सम्झिँदा मनमा शान्ति हुन्छ,’ राजेश अग्रवालले भने, ‘हामीले प्रत्यक्ष फाइदा लिनेभन्दा मनको शान्तिका लागि उहाँको शरणमा परिरहन्छौं।’
‘राजेशकै भनाइलाई साथ दिँदै शशिकान्त पनि जब आफूलाई कुनै समस्या पर्छ वा मनमा चिन्ता बढ्छ, त्यो बेला उहाँहरुजस्तो बाबाको शरणमा पुगेर प्रवचन सुन्दा वा दर्शन गर्दा आनन्द छाउने बताउँछन्। ‘यो नितान्त मनको शान्तिका लागि हो, हामीले कुनै फाइदा लिएका हुँदैनौं,’ अग्रवालले भने।
दुई साताअघि नेपाल आएका बाबासँग चन्द्रागिरि हिल्समा प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट गरे। गोकर्ण फरेस्ट रिसोर्टमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री आरजु राणा भेट्न पुगे। त्यसबाहेक अन्य राजनीतिक दलका नेताहरु पनि उनको आशीर्वाद लिन पुगेका थिए।
त्यति मात्रै होइन, स्वामी कैलाशानन्दलाई तारे होटलमा राख्न व्यवसायीबीच होडबाजी नै चलेको थियो। स्वामीले काठमाडौं म्यारियटमा निश्चित गरेको बसाइ अन्तिम समय गोकर्ण फरेस्ट रिसोर्टमा सारिएकाे थियाेए। त्यति मात्रै होइन, होटल वर्णवासले पनि स्वामीलाई आफ्नो होटलमा ल्याउन निकै प्रयत्न गरे पनि सफल हुन सकेन।
स्वामी कैलाशानन्दलाई उद्योगपति विनोद चौधरीले आफ्ना छोरा राहुलमार्फत भन्न लगाएर आफ्नो निवासमा विशेष पूजा गराएका थिए। त्यसपछि उद्योगपति शशिकान्तले पनि विशेष कार्यक्रम आयोजना गरेका थिए।
उद्योगी व्यवसायीसँग किन नजिक हुन्छ बाबाहरु?
बाबाहरु सामान्यतया साभ्रान्त वर्गको संगतमै बढी रमाउँछन्। उनीहरुको बसाइँ र सुखसयल अरुको भन्दा भिन्न हुन्छ। आफ्नो सुखसयललाई निरन्तरता दिन पनि बाबाहरु विभिन्न प्रतिष्ठित उद्योगी व्यवसायीलाई आफ्नो निकट बनाइराख्न चाहन्छन्। साेही कारण आफूलाई पर्ने हरेक आवश्यकता पूरा गर्न सक्छन्।
कतिपय बाबाले आफ्नो उद्योगी व्यवसायी भक्तमध्ये एकअर्कालाई भेटाइदिने र व्यावसायिक सहकार्यको बाटोसमेत खुलाइदिन्छन्। खासगरी भारतमा रहेका बाबाहरु विभिन्न प्रतिष्ठत उद्योगी व्यवसायीसँग निकट हुन्छन्।
उनीहरु सत्तासँग पनि नजिक हुन्छन्। साेही कारण उद्योगीलाई सत्ताबाट कुनै सुविधा लिनु छ भने बाबामार्फत काम गराउने र नेताहरुले पनि उद्योगीबाट लिनुपर्ने फाइदाको माध्यम उनै बाबालाई नै बनाउने गरेका छन्। यसको लाभ बाबाले पनि लिने गर्छन्।
नेपाल भ्रमणमा आएर फर्किएका निरञ्जने अखडाका प्रमुख स्वामी कैलाशानन्द भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट छन्। यस्तै व्यवसायीमा मुकेश अम्बानीको परिवार उनी निकट छन्।
मुकेश अम्बानीको श्रीमती नीता अम्बानीले उनको आश्रममा गएर ध्यान गरेकी थिइन्। यस्तै, अमेरिकी खर्बपति एलन मक्स पनि उनको आश्रममा आएर बसेका थिए। ठूला व्यवसायीको शक्ति केन्द्रको रुपमा बाबाहरू पर्ने भएकाले पनि त्यहीँ ट्रेन्डलाई पछ्याएको नेपाली व्यवसायीको भनाइ छ।