काठमाडौं- छैटौं संस्करण को एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्डले जित निकालेको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा न्यु डायमन्डले विभागीय टिम एपीएफलाई ३-१ को सेटमा हराउँदै जित निकालेको हो।
खेलमा न्यु डायमन्डले एपीएफ विरुद्ध २४-२६, २५-२१, २५-१७ र २५-१५ को जित निकाल्यो। पहिलो निकै प्रतिस्पर्धात्मक सेटमा २६-२४ को जित निकालेको एपीएफले दोस्रो स्टमा खराब सुरुवात गरेको थियो। उसले ८-१६ ले पछि परेको अवस्थालाई निरन्तरता दिँदै २१-२५ को हार बेहोर्यो।
सोही सेटमा १९-२१ को अवस्थाबाट पुनरागमन प्रयास गरे पनि एपीएफले पुनरागमन गर्न सकेन। तेस्रो सेटमा न्यु डायनम्ड ९-१४ ले अगि रहँदै १४-२१ भएर १७-२५ को जित निकाल्यो। एपीएफका खेलाडील पेसमा रहन नसक्दा निरन्तर अंक गुमाइरहे जसको फाइदा न्यु डायमन्डले लियो।
चौथो सेटमा एपीएफले सहज सुरुवात गरे पनि ४-२ को अवस्थापछि त्यही लयमा रहन सकेन र ७-१३ ले पछि पर्यो। अन्ततः न्यु डायमन्डले १५-२५ को जित निकाल्यो। जितसँगै न्यु डायमन्डले ४ लाख पुरस्कार जितेको छ। उपबिजेता एपीएफ क्लबले २ लाख जितेको छ। पुरुषतर्फको फाइनल खेलमा शनिबार टिपटप हेल्प नेपाल र आर्मी भिड्दै छन्।