काठमाडौं। हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी एइटो एम८ले चीनमा व्यापक चर्चा पाएको छ। एइटो सार्वजनिक हुनुअघिनै १ लाख अर्डर प्राप्त गरिएको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार यसकाे प्रि-सेल मूल्य ३ लाख ६८ हजारदेखि ४ लाख ५८ हजार युआन सम्मको रेन्जमा रहेको छ। अब यो गाडी चाँडै नै चिनियाँ बजारमा औपचारिक रूपमा प्रवेश गर्दैछ।
एइटो ब्रान्ड हुवावे र सेरेसबीचको सहकार्य हो। यो प्रोजेक्टमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको जिम्मा लिएको छ भने हुवावेले गाडीको प्रविधिगत भाग, मुख्य कम्पोनेन्टको आपूर्ति र बिक्रीको काम सम्हालिरहेको छ।
एइटो ब्रान्डअन्तर्गत अहिले एइटो एम५,एइटो एम७ र एइटो एम९ गरी तीनवटा क्रसओभर गाडी उपलब्ध छन्। चीन ईभी डाटा ट्र्याकरकाअनुसार यी मोडेलहरूको कूल बिक्री २०२४ मा ३८५,९०४ युनिट पुगेको थियो। अब हुवावे र सेरेसले चौथो मोडेल एइटो एम८ सार्वजनिक गर्न लागिरहेका छन्, जसले सार्वजनिक हुनुअघि नै चीनमा ठूलो चर्चा कमाएको छ।
चीनमा हुवावे एइटो एम८ले पायो १ लाख अर्डर
मार्च ६ मा चीनमा एइटो एम८ को प्रि-सेल सुरु गरिएको थियो। ५ हजार युआन (लगभग ७०० डलर) को अग्रिम रकम बुझाउने ग्राहकहरूलाई गाडी सार्वजनिक भएपछि १० हजार युआन (झण्डै १,४०० डलर) छुट दिइने योजना थियो।
कम्पनीका अनुसार सार्वजनिक हुनुअघि नै यस गाडीले निकै आकर्षण पाएको हो। प्रि-सेल सुरु भएको एक घण्टामा नै ७,५०० अर्डरहरू प्राप्त भएका थिए।
एइटो एम८ को फिचर
एइटो एम८ डिजाइन र स्पेसिफिकेसनको हिसाबले फ्ल्यागशिप मोडेल एइटो एम९ सँग नजिक छ। यो एक ठूलो एसयुभी हो जसको लम्बाइ/चौडाइ/उचाइ क्रमशः ५१९०/१९९९/१७९५ मिमि र ह्विलबेस ३१०५ मिमि रहेको छ। यसको छानामा लिडर सेन्सर, अगाडि एलईडी लाइट स्ट्रिपसहित ठूला हेडलाइट छन्।
यो गाडी २१-इन्चका मल्टी-स्पोक रिममा कुद्छ। टिन्टेड रियर विन्डोज, रिट्रयाक्टेबल डुअर ह्यान्डलहरू र आकर्षक रङ विकल्पहरू यसका अन्य फिचरहरू हुन्।