सिरहा। सिरहाको लहानमा सञ्चालन हुँदै आएका अधिकांश पसलको व्यवसाय दर्ता नगरिएको, दर्ता भएका व्यवसायको नवीकरण नभएको, खरिद बिक्रीको बिलबिजक नभएको तथा मूल्यसूची नराखिएको भेटिएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज तथा इलाका प्रशासन कार्यालय लहान सिरहाको अगुवाइमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा अधिकांश पसल दर्ताबिने सञ्चालन भएको पाइएको हो।
अनुगमन टोलीले यस्ता पसललाई जरिवाना तोकेको छ। अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई १५ हजार, श्याम इलेक्ट्रोललाई १० हजार र मा इन्टरप्राइजेजलाई पाँच हजार रुपैयाँ जरिवाना तोकेको छे।
त्यस्तै महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्स, नितिस ट्रेडर्स एन्ड सप्लायर्स, विवेक सुसेन्टर, प्रिया जनरल स्टोर्स, ओम किराना, हरेकृष्ण इम्पेरियम र अर्चिड क्याफेलाई पहिलोपटकलाई सामान्य चेतावनीसहित सचेत बनाइएको छ।
इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयालका अनुसार यी पसलका सञ्चालनकलाई तीन दिनभित्र पसलमा मूल्यसूची राख्न र आवश्यक कागजात इलाका प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइएको छ। यदि व्यवसायीले अटेर गरे कानूनबमोजिम कारबाही गरिने प्रमुख सुयालले बताए।–रासस