काठमाडौं- पार्टी विभाजनपछि गुमेको शक्ति आर्जन गर्ने उपायको खोजीमा जुटेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। सरकारबाट बाहिरिएको अढाई महिना र पार्टी विभाजनको पाँच हप्तापछि एमालेले देशभरबाट ६ हजारभन्दा धेरै नेता–कार्यकर्ता सहभागीतामा विधान महाधिवेशन गर्न लागेको हो।
ललितपुरको गोदावरीमा आजबाट तीन दिनसम्म चल्ने प्रथम विधान महाधिवेशन एमालेले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हो। विधि र नीति निर्माणका लागि केन्द्रित गरेर विधान महाधिवेशन आयोजना गरिएको एमाले नेताहरूले बताएका छन्।
विधान महाधिवेशनमा ७७ जिल्ला, जनसंगठन, प्रवाससहितका प्रतिनिधि सहभागी हुँदै छन्। महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ–संगठनहरूबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्य सहभागी हुनेछन्।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको संगठनात्मक र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। यसअघि यी तीनैवटा दस्ताबेज स्थायी कमिटी, केन्द्रीय कमिटी र पुनः स्थायी कमिटीबाट अनुमोदन भइसकेका छन्। विधान महाधिवेशनमार्फत पार्टी संगठनलाई पुनःसंगठित गर्ने र कार्यकर्ताको मनोबल उठाउने एमालेले जनाएको छ।
एमाले नेताहरूले विधान महाधिवेशन पार्टीको आन्तरिक जीवनका लागि कोसेढुंगा साबित हुने दाबी गरेका छन् । माधवकुमार नेपालले पार्टी विभाजन गरी आफ्नो नेतृत्वमा एकीकृत समाजवादी गठन गरेपछि त्यसले पुर्याएको क्षतिलाई विधान महाधिवेशनको बलमा पूर्ति गर्ने र लगत्तै मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने एमालेको योजना छ । एमाले विभाजन गरी ९ भदौमा माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको छ ।
के रणनीति बनाउँनेछ विधान महाधिवेशनले?
विधान महाधिवेशनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीविरुद्ध वैचारिक रणनीति तय गर्ने र सरकारको नेतृत्व गरेको कांग्रेसलाई आगामी निर्वाचनमा चुनौती दिने योजना बनाउने भएको छ । एक महिनाकै बीचमा विभाजनको क्षति व्यहोरेको एमालेले नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीमा लागेका नेता–कार्यकर्ता फर्काउने योजना पनि बनाएको छ । त्यसका लागि नेतृत्वमा ७० वर्षे उमेरहदलाई निरन्तरता दिने, प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने, पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने, फरक मतलाई सकेसम्म राजनीतिक र सांगठनिक प्रतिवेदनमा समेटेर विभाजन चिर्नेलगायतको योजनासहित विधान महाधिवेशन अगाडि बढाएको छ।
महाधिवेशनमा पेस गर्ने ओलीको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन, संसद् विघटनदेखि पार्टी विभाजनसम्मको अवस्था, आफ्नो नेतृत्वको सरकारको कामको समीक्षासहित चुनावसम्मका लागि पार्टीको योजना उल्लेख छ। महासचिव पोखरेलको संगठनात्मक प्रतिवेदनमा पार्टी विभाजनपछि संगठन र अबको संगठनात्मक अवस्थाबारे उल्लेख । यसबाहेक विधान संशोधन प्रस्तावमा एमालेले दसौं महाधिवेशनको नेतृत्वको ढाँचा तय गरेको छ।
यस्तो छ व्यवस्थापन
महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ देखि ११ बजेसम्म खानाको समय छुट्याइएको छ भने दिउँसोका लागि प्याकेटको खाजा व्यवस्था गरिएको छ । प्रतिनिधिहरूले साँझको खाना भने बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने भएका छन्।
उनीहरूको आवासको व्यवस्था काठमाडौंमा रहेका प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरूको सहयोगमा सम्बन्धित भूगोलका प्रदेश कमिटीहरूले गर्ने भएका छन् । निजी साधन नभएका प्रतिनिधिलाई गोदावरी पुर्याउन ललितपुरको सातदोबाटोबाट २० वटा हायसको व्यवस्था गरिएको व्यवस्थापन समितिका सदस्य खिमलाल भट्टराईले जानकारी दिए।
कोरोना महामारीकै अवस्था भएकाले त्यसप्रति संवेदनशील हुँदै मास्क, स्यानिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ।