काठमाडौं। शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षीयहितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
परिसंघमा बुधबार आयोजित समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयको तर्फबाट रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघको तर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरेका थिए।
अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको बताए। उनले शैक्षिक योग्यता हुने तर सिपयुक्त सिकाई बढाउन आवश्यक रहेकाले नयाँ अवधारणामा स्थापित नेपाल विश्वविद्यालयले सिपयुक्त जनशक्ति उत्पादनमा योगदान गर्ने विश्वास व्यक्त गरे।
उनले नेपाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई उद्योगसँग जोड्न परिसंघले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल विश्वविद्यालयले हालको परम्परागत शैक्षिक कार्यक्रमलाई रुपान्तरण गर्ने विश्वाससमेत व्यक्त गरे।
नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दु लोहनीले विश्वविद्यालयका विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि उद्योगमा इर्न्टनसीप गराउन परिसंघले सहयोग गर्नुपर्ने बताए। सिपयुक्त शिक्षा प्रदान गर्ने गरी नेपाल विश्वविद्यालय अगाडि बढेको भन्दै उनले अहिलेको आवश्यकता पनि त्यही रहेको बताए।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्कीले सिपयुक्त, उद्यमशीलता, नविनतासँगै विद्यार्थीमा असल भावना विकास गराउने गरी कार्यक्रम ल्याइने बताए। विश्वविद्यालय नयाँ अवधारणअनुसार अगाडि बढेकाले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका थिए।
परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग अनुभव, पाठ्यक्रम विकास, नविनता, अनुसन्धानलगायतका क्षेत्रमा विश्वविद्यालयसँग सहकार्य गरिने जानकारी दिए। यस अवसरमा नेपाल विश्वविद्यालयका बोर्ड सदस्य डा. जगदीशचन्द्र पोखरेल, डा. विमला राई पौडेल, डा. लालकृष्ण केसीलगायत सहभागी थिए।