काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि चुप लागेर बसेको भन्दै सञ्चार माध्यमप्रति असन्तुष्टि जनाएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्याम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी समेत गरे।
प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँग मंगलबार अपरान्ह अन्तरक्रिया गर्दै उनले सरकारलाई सञ्चार माध्यामहरुले खबरदारी गर्न नपुगेको पनि स्पष्ट पारे। अध्यक्ष ओलीले भने, ‘सरकारलाई खबरदारी गरेन भने लापरबाही जस्तो हुँदो रहेछ। जस्तो अहिलेको सरकार। अहिलेको सरकारलाई खबरदारी पुगेनकि जस्तो लाग्छ। संविधान, कानुनको मतलब छैन।’
अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउने मनसायले सरकारले अध्यादेश ल्याएको भन्दै आक्रोश व्यक्त गरे। उनले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कमजोर पार्ने भएकाले आफू चिन्तित भएको तर्क समेत गरे।
अध्यक्ष ओलीले सरकारले बजेटमार्फत् कालो धनलाई सेता बनाउन खोजेको भन्दै आपत्ति जनाए। सरकारको सो निर्णयले नेपालमा विपत्ति ल्याउने ओलीको दाबी थियो। तर आफ्नो पार्टीले कालो धनलाई सेतो बनाउने सरकारको प्रयासलाई सफल हुन नदिने अध्यक्ष ओली बताए।
अध्यक्ष ओलीले एमसीसीबारे सरकारको धारणा पुनः माग गरे। उनले एमसीसीबारे सम्झाउन सरकारलाई अमेरिकी अधिकारीहरुनै नेपाल आउनुपर्ने हो र भनि प्रश्नसमेत गरे।
अध्यक्ष ओलीले सरकारको धारणा नआई आफूहरुले सो बारे धारणा बनाउन नमिल्ने अडान पनि दोहोर्याएका थिए।