काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फिल्म निर्माता र स्टुडियो विदेशमा काम गर्ने प्रवृत्तिले हलिउड ‘विनाश’ भइरहेको दाबी गर्दै सबै चलचित्रमा नयाँ कर लगाउने आदेश दिएको बताएका छन्।
ह्वाइटहाउस आक्रामक व्यापार नीतिमाथि बढ्दो आलोचनाको सिकारमा परेको बेला यो ट्रम्पले यो घोषणा गरेका हुन्। ट्रम्पले विश्वभरिका देशमा व्यापक कर लगाएका छन्।
‘म वाणिज्य मन्त्रायल र संयुक्त राज्य व्यापार प्रतिनिधिलाई हाम्रो देशमा आउने विदेशी भूमिमा उत्पादित कुनै पनि र सबै चलचित्रमा सय प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्त सुरु गर्न अधिकार दिँदै छु’, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘हामी चलचित्रहरू फेरि अमेरिकामै बनेको चाहन्छौं।’ वाणिज्यमन्त्री हावर्ड लुटनिकले ट्रम्पको सन्देश पुनः पोस्ट गर्दै भने, ‘हामी यसमा काम गरिरहेका छौं।’
कर कसरी कार्यान्वयन गरिने भन्नेबारे कुनै विवरण दिइएको छैन।
धेरै सामानमा एक सय ४५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपतिको जुझारु व्यापार नीतिको भार लिएको चीनले गत महिना आफूले आयात गरेको अमेरिकी चलचित्रको संख्या घटाउने बताएपछि ट्रम्पको पोस्ट आएको हो। चलचित्र उद्योगका लागि प्रभाव वा वास्तवमा कर कसरी लागू गरिनेछ भन्नेबारे तत्काल स्पष्ट पारिएको छैन।
हलिउड अमेरिकाको अर्थतन्त्रको एक प्रमुख क्षेत्र हो। यस क्षेत्रले मोसन पिक्चर एसोसिएसनको पछिल्लो तथ्यांकअनुसार २०२२ मा २३ लाखभन्दा बढी रोजगारी र दुई खर्ब ७९ अर्ब डलरको बिक्री उत्पन्न गरेको थियो।
तर, हलिउड हड्ताल र कोभिड महामारीको प्रभावको पृष्ठभूमिमा उद्योगले अझै पनि आफ्नो गति पुनः प्राप्त गर्न संघर्ष गरिरहेको उद्योगका भित्रीले बताएका छन्। हड्ताल र कोभिड महामारीले अमेरिकीले चलचित्र खपत गर्ने तरिका परिवर्तन गरेको छ र थिएटरमा भन्दा घरमा हेर्ने छनोट गरेको छ।
उत्पादन ट्र्याकिङ सेवा प्रोडप्रोको जनवरीको रिपोर्टअनुसार अमेरिका १४ अर्ब ५० करोड डलरको उत्पादन खर्चसहित एक शीर्ष फिल्मिङ केन्द्र हो । यद्यपि त्यो रकम दुई वर्ष अघिको तुलनामा २६ प्रतिशतले घटेको छ।
यद्यपि स्टुडियो कार्यकारीको सर्वेक्षणले सन् २०२५ र २०२६ का लागि उनीहरूको शीर्ष पाँच मनपर्ने उत्पादन स्थान प्रस्तावमा प्रतिस्पर्धी कर प्रोत्साहन योजनाका कारण संयुक्त राज्य अमेरिका बाहिर रहेको खुलासा गरेको छ।
पहिलो टोरन्टो, त्यसपछि बेलायत, भ्यानकुभर, मध्य युरोप र त्यसपछि अस्ट्रेलिया थिए । क्यालिफोर्निया छैटौं स्थानमा छ।–एजेन्सी