काठमाडौं। दुईदिने अन्तर्राष्ट्रिय नेल सेमिनारमा जापानका पाँच प्रसिद्ध नेल आर्टिस्ट हारु, मियानो, कानाको, माईको र ओकी ५० बढी स्थानीय नेल व्यवसायीसँग एउटै मञ्चमा देखिएका छन्।
पपअप नेपालद्वारा प्रस्तुत र प्रिटी नेल्स तथा द नेल स्टुडियोबाइ सिरापद्वारा आयोजित सेमिनारको उद्देश्य नेपालमा नेल आर्ट उद्योगलाई विश्वस्तरीय प्रवृत्ति र प्रविधिबाट सशक्त बनाउनु रहेको थियो।
जापानी विशेषज्ञको प्रत्यक्ष मार्गदर्शनमा सेमिनारमा जापानी नेल आर्ट शैलीको विस्तृत परिचयसँगै सहभागीले सफाइका मिहीन अभ्यास, डिजाइनको सूक्ष्म तरिका र जटिल हस्तनिर्मित नेल स्टिकर बनाउने सीप सिकेका छन्।
तालिममा नेल तयारी, उपकरणको स्याहार, डिजाइनको आधारभूत सीपदेखि लिएर उन्नत कार्यशालासम्म समेटिएको थियो।
अनु अमात्य, सिरापा तुलाधर र कपिल उप्रेती नेतृत्वको कार्यक्रमले ज्ञान आदान–प्रदानका साथै सांस्कृतिक सम्वादको सेतुको रूपमा पनि काम गरेको आयोजकको भनाइ छ।
कार्यक्रममा आयो राइडिङ पार्टनर, मोलटोल फुड पार्टनर र प्रिटिक्लिकको सहयोग रहेको थियो।