काठमाडौं। लामो समयदेखि चर्चामा रहेको युरो–६ मापदण्ड लागू हुने भएको छ। सरकारले धेरै अघिदेखि बहसमा रहेको युरो–६ मापदण्ड लागू गर्ने घोषणा गरेको हो।
शुक्रबार संसद बैठकको दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वायु प्रदूषण कम गर्न पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा यूरो ६ मापदण्ड लागू गर्ने बताएका हुन्।
‘वातावरणीय अध्ययन तथा मूल्यांकन प्रक्रिया सरल बनाइने छ। वायु गुणस्तर कार्य योजना लागू गरिने छ। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा युरो–६ मापदण्ड लागू गरिने छ,’ राष्ट्रपति पौडेलले भने, ‘जलवायु सम्बन्धित अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइने छ। जलवायु वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गरिने छ।’
नेपालमा लामो समयदेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा युरो–६ मापदण्ड लागू गर्ने तयारी गरे पनि लागू हुन सकेको थिएन्। व्यवसायीहरूले केही पूर्वतयारी गरेर मात्र प्रदूषण मापदण्डसम्बन्धी नयाँ नियम लागू गर्नुपर्ने बताएका छन्। सम्पूर्ण सवारी तथा यातायातका साधनमा युरो–६ लागू गर्ने घोषणालाई व्यवसायीले सकारात्मक रुपमा लिएका छन्।
युरो–६ मापदण्डमा जान व्यवसायी तयार छन्। त्यसका लागि सरकारले पर्याप्त समय दिनुपर्ने नाडाका अध्यक्ष करण चौधरीले बताउँछन्।
सरकारले पेट्रोलियम सवारी साधनमा युरो–६ को मापदण्ड लागू गर्ने घोषणा गरेको छ। यसका लागि व्यवसायीहरु तयार भए पनि सरकारले समय दिनुपर्ने बताएका छन्।
युरो–६ मापदण्डमा जान व्यवसायी तयार छन्। त्यसका लागि सरकारले पर्याप्त समय दिनुपर्ने नाडाका अध्यक्ष करण चौधरीले बताउँछन्। ‘हो, हामी युरो–६ मापदण्डअनुरूप तयार छौँ, यदि हामीलाई यसको कार्यान्वयनका लागि पर्याप्त समय प्रदान गरिन्छ भने,’ अध्यक्ष चौधरीले भने, ‘सहज रुपान्तरण सुनिश्चित गर्न सावधानीपूर्वक योजना, पूर्वाधार समायोजन र सबै सरोकारवालाको समन्वय आवश्यक छ।’ पर्याप्त समयको साथ नयाँ मापदण्डसँग प्रभावकारी रूपमा मेल खाने दक्षता र दिगोपन कायम राख्न सक्ने उनको भनाइ छ।
‘युरो–६ मापदण्डले अहिले सञ्चालनमा भएको सवारी साधनलाई केही प्रभाव गर्दैन। तर, नयाँ आउँदै गरेको सवारी साधनलाई प्रभाव पार्छ र गाडीको मूल्य पनि बढ्छ।’
नेपालमा युरो–६ मा जाँदा सोचेर जानुपर्ने जीओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाको भनाइ छ। ‘युरो–६ मा जाँदा हुन्छ। तर, समय लिएर जानुपर्छ। अहिले जो युरो–६ मा गएका छैनन्। उनीहरुले गाडी अर्डर गरेको हुन्छ,’ उनले भने, ‘हामीले कम्पनीहरुलाई वार्षिक योजना दिएको हुन्छ। डिसेम्बरसम्मको योजना गइसकेको छ। अर्डर कन्र्फमेसन भइसकेको छ। त्यस कारण समय दिनु प¥यो। युरो–६ मा जाने हो भने जाँदा हुन्छ। अधिकांश गाडी युरो–६ मा नै छन्। तर, युरो–६ मा गए पनि समय दिएर जानुपर्छ।’
युरो–६ मा जाँदा काठमाडौं वा अन्य ठूलो सहरमा केही समस्या नभए पनि दुर्गम क्षेत्रमा गाडी रिप्यर गर्न समस्या पर्ने गोल्छाको भनाइ छ।
एक्कासी युरो–६ मा जाँदा गाडीको मूल्य बढ्छ। धेरै गाडी युरो–६ मा भएकाले उनीहरुलाई फरक पर्दैन। जो छैनन् उनीहरुको लागत बढ्छ। युरो–६ मा जाँदा काठमाडौं वा अन्य ठूलो सहरमा केही समस्या नभए पनि दुर्गम क्षेत्रमा गाडी रिप्यर गर्न समस्या पर्ने गोल्छाको भनाइ छ।
‘धेरै देशहरु अझै युरो–६ मा गएका छैनन्। थाइल्याण्ड २०२७ मा जान्छ। अष्ट्रेलिया, मलेसिया, इन्डोनयसियालगायतका देशहरु अझै पनि युरो–६ मा गएको छैनन्,’ गोल्छा भन्छन्, ‘भारतबाट आउने अधिकांश गाडीहरु युरो–६ को छ केही समस्या छैन। तर, थाइल्याण्डबाट आउने केही गाडीहरु छन्। त्यो ठाउँमा युरो–६ नहुँदा समस्या पर्छ। युरो–६ गाडी अलग प्लान्टमा बन्नको लागि अलि समय लाग्छ। त्यस कारण समय दिनुपर्छ।’
अहिले नेपालमा भएका अधिकांश नीजि गाडीहरु युरो–६ का छन्। बाइक र कमर्सियल गाडीमा भने युरो–६ नभएका पनि छन्।