काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)भित्र बबण्डर भएको छ। लामो इतिहास बोकेको नाडामा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष र सदस्यहरुको विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिएको हो।
करिब दुई वर्षअघि भएको नाडाको निर्वाचनपछि निर्वाचित अध्यक्षसहितको सचिवालयले ध्यान दिन नसक्दा संशोधित विधान पास गर्न नसकेपछि नाडाभित्रको विवाद सतहमा देखिएको हो।
नाडाभित्र देखिएको विवादलाई उग्र रुपमा लिइरहँदा वरिष्ठ उपाध्यक्षका रुपमा कार्य समितिबाट निर्वाचित आकाश गोल्छालाई हटाएको छ। उनलाई अहिले निर्वाचित सदस्यको रुपमा मात्र राखिएको छ।
यस्तै, नाडाको मनोनित सदस्यका रुपमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा निशान ढकाल र नाडाका पूर्वअध्यक्ष रुप ज्योतीका छोरा अभिक ज्योतीलाई हटाएर आमन्त्रित सदस्यमा राखिएको छ। आमन्त्रित सदस्यको व्यवस्था नाडाको विधानमा छैन।

विधानमा नभएको आमन्त्रित सदस्यको पद नाडाका वर्तमान अध्यक्ष करण चौधरीले नै सिर्जना गरेर राखेका थिए। दुई वर्षअघि भएको साधारणसभाकै बेला संशोधित विधानमा वरिष्ठ उपाध्यक्ष र मनोनित सदस्य थप्ने प्रस्ताव राखेर पारित गरिएको थियो।
वरिष्ठ उपाध्यक्ष र मनोनित दुई जना सदस्यहरु हटाएको जानकारी वेवसाइटमा राखे पनि आधिकारिक रुपमा कुनै निर्णय गरेको छैन।
यसअघि नाडाको मनोनित सदस्यमा तीन जना मात्र राख्ने प्रावधान रहँदै आएको थियो। प्रस्तावित नयाँ विधानअनुसार थप दुई जना राख्ने प्रावधानअनुसार ढकाल र ज्योतीलाई सदस्यको रुपमा राखेका थिए। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडाले पठाएको विधान स्वीकृत नगरेपछि कायम गरिएको वरिष्ठ उपाध्यक्ष र दुई सदस्यको पद खारेज गरेका छन्।
वरिष्ठ उपाध्यक्ष र मनोनित दुई जना सदस्यहरु हटाएको जानकारी वेवसाइटमा राखे पनि आधिकारिक रुपमा कुनै निर्णय गरेको छैन। नाडाका महासचिव सुरेन्द्र उप्रेतीले वरिष्ठ उपाध्यक्ष र दुई जना सदस्यहरु हटाएकोबारे आफूलाई जानकारी नभएको बताए।

‘एक डेढ महिनाअगाडि यो विषयमा कार्य समितिमा छलफल भए पनि निर्णय भएको थिएन,’ महासचिव उप्रेतीले भने, ‘मैले पनि यो कुरा समाचार हरेर मात्र थाहा पाएको हो। यो विषयमा मलाई कुनै आइडिया छैन।’
पदबाट हटाइएको बारेमा हालसम्म आधिकारिक रुपमा नाडाबाट कुनै जानकारी नदिएको भन्दै यस विषयमा थप छलफल गरेर अगाडि बढ्ने उनको भनाइ थियो।
नाडाको वरिष्ठ उपाध्यक्षबाट हटाएर सदस्यमा राखेपछि गोल्छाले अहिलेको नेतृत्वमा सचिवालयले लाचारीका कारण जिल्ला प्रशासन कार्यालयले संशोधित विधानलाई स्वीकृति नदिएको प्रतिक्रिया दिए। ‘मलाई यो पदभन्दा नाडाको प्रतिष्ठाको बढी चिन्ता छ,’ उनले भने, ‘अध्यक्षसहित सचिवालको कमजोर प्रस्तुतिका कारण यो समस्या आएको हो।’

पदबाट हटाइएको बारेमा हालसम्म आधिकारिक रुपमा नाडाबाट कुनै जानकारी नदिएको भन्दै यस विषयमा थप छलफल गरेर अगाडि बढ्ने उनको भनाइ थियो। ‘म चुनावी मैदानबाट सदस्यमा निर्वाचित भएको हुँ, कार्यसमितिबाट वरिष्ठ उपाध्यक्ष बनेको हुँ,’ गोल्छाले भने ‘मसहित दुई जना सदस्य हटाइएको छ, यो विषयमा गम्भिर समीक्षा गरेर अगाडि बढ्छौँ, तर नाडा छोड्दैनौँ।’