काठमाडौं- ऊर्जामन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणमा नयाँ कदम चाल्ने बताएकी छन्। उनले विद्युत प्राधिकरणको कामसँग आफू सन्तुष्ट नरहेको र केही दिनमै नयाँ कदम चाल्ने आइतबार मन्त्रालयमा भएको ब्रिफिङमा बताएकी हुन्।
विद्युत प्राधिकरणसँगको बिफ्रिङमा उर्जामन्त्री भुसालले भनिन्, ‘प्राधिकरण केही समययता लोडसेडिङ व्यवस्थापनमा पनि असफल भएको छ, अब म छिट्टै नयाँ कदम चाल्नेछु।’
पछिल्लो समय विद्युत चुहावट नियन्त्रण गर्न नसक्दा चुहावट १७ अर्ब रुपैयाँमा पुगेको, नाफा घटेर ५ अर्बमा सिमित भएको, लोडसेडिङ हटे पनि झ्यापझ्याप बिजुली काटिने समस्या समाधान नभएको तथा प्राविधिक र प्रशासनिक कमजोरी बढी देखिएको उनको भनाइ छ।
ऊर्जामन्त्रालयमा भएको बिफ्रिङमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यले कोरोना महामारीका कारण कर्मचारी खटाउन नसकिएकोले विद्युत् चुहावट नियन्त्रण गर्न नसकेको साथै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबाटै असहयोग भएको बताएका थिए।
उनले सरकारले विभिन्न उद्योगी व्यवसायलाई विद्युतमा छुट दिएको र सोको शोध भर्ना बापतको ३ अर्ब र ट्रंकलाइन र डेडिकेटेडको १८ अर्ब रुपैयाँ बढी नउठ्दा नाफा नबढेको बताएका थिए।