धनगढी- १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पूरा भएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन धेरै अनुसन्धान भए। तर तीन वर्षसम्म पनि निर्मला हत्या प्रकरणमा संलग्न अपराधी कानुनी कठघरामा आएका छैनन्।
न्यायको आश मारेर बसेकी निर्मलाकी आमा दुर्गा पन्तलाई ३ वर्षपछि फेरि न्याय पाइने झिनो आशा पलाएको छ। त्यो अशाको कारण हो– सरकार परिवर्तन र आफ्नै ठाउँका नेता प्रधानमन्त्री बन्नु। ‘देशका प्रधानमन्त्री अहिले हाम्रै सुदूरपश्चिमबाट बनेका छन्। अब मेरो छोरीले न्याय पाउँछिन् कि भन्ने आशा पलाएको छ, अघिल्लो सरकारबाट त आशा नै मरिसकेको थियो,’ दुर्गा भन्छिन्।
आफ्नै क्षेत्र (सुदूरपश्चिम) बाट प्रधानमन्त्री बनेपछि दुर्गालाई अब प्रधानमन्त्रीलाई भेटेर छोरीका लागि न्याय माग्ने इच्छा पलाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा २०६४ मा सम्पन्न पहिलो संविधानसभामा कञ्चनपुरबाट विजयी भएका थिए। ‘उहाँ (देउवा) लाई हामीले भोट दिएर जिताएका हौं। अहिले प्रधानमन्त्री हुनुभएको छ, पक्कै पनि उहाँले मलाई न्याय दिनुहुनेछ,’ दुर्गाले भनिन्।
तीन वर्षअघि आजकै दिन (१० साउन २०७५) गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी निर्मला ११ साउनको बिहान स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्। ‘अघिल्लो सरकारले छोरीलाई न्याय दिन सक्दैन भन्ने लाग्यो र निराश हुँदै म छोरीको सम्झनामा लिप्त थिए,’ दुर्गाले भनिन्, ‘कांग्रेसले त्योबेला न्यायका लागि हामीसँगै आवाज उठाएको थियो, अहिले त्यही कांग्रेस सरकारमा जाँदा न्याय पाइनेमा म विश्वस्त छु।’
उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई काठमाडौंमा जाँदा न्यायका लागि सहयोग गर्ने आश्वासन दिएको समेत स्मरण गरिन्। ‘छोरीको न्यायका लागि काठमाडौं जाँदा देउवाज्युले मलाई न्याय दिलाउने आश्वासन समेत दिनुभएको थियो,’ उनले भनिन्, ‘अहिले उहाँ नै सरकारमा हुनुहुन्छ, मैले न्याय पाउँछु भन्ने आशा पलाएको छ।’
के भन्छ प्रहरी?
तीन वर्षदेखि अनुसन्धानमै रुमलिएको प्रहरी अहिले पनि घटनाको अनुसन्धान भइरहेको भन्ने प्रतिक्रियामा सीमित छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) विक्रम चन्दका अनुसार अहिले पनि घटनाको अनुसन्धान भइरहेको छ। ‘निर्मला प्रकरणमा अनुसन्धान जटिल छ,’ एसएसपी चन्द भन्छन्, ‘त्यसैले अनुसन्धान पनि लम्बिएको हो, तर अपराधी पत्ता लाग्छ।’
निर्मला प्रकरणको अनुसन्धान गर्न अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी नेतृत्वको टोलीसँगै प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली खटिरहेको उनले बताए। ‘घटनाको अनुसन्धान विभिन्न कोणबाट भइरहेको छ,’ एसएसपी चन्दले भने, ‘धेरै अनुसन्धान पनि भएको छ, एक दिन निर्मलाले न्याय पक्कै न्याय पाउनेछिन्।’
साउन १० गते साथीको घरमा गृहकार्य गर्न जान्छु भन्दै गएकी निर्मला अबेरसम्म पनि घर नफर्केपछि परिवारले खोजी सुरु गरेको थियो। सो दिन बालिकाको खोजी कार्यमा प्रहरीले तदारुकता नदेखाएको निर्मलाकी आमा दुर्गादेवीले आरोप लगाउँदै आएकी छन्। निर्मला साउन ११ गते बिहान भीमदत्त नगरपालिका–१८ नजिकैको उखुबारीमा निर्वस्त्र मृत अवस्थामा फेला परेकी थिइन्।
उनको बलात्कारपछि हत्या भएको र हत्यारा सोही ठाउँका दीलिप विष्ट भएको भन्दै प्रहरीले भदौ ४ गते सार्वजनिक गरेको थियो। तर उनलाई दोषी प्रमाणित गर्न नसकेपछि छोडिएको थियो। निर्मलालाई न्यायको माग राख्दै आन्दोलन चर्केपछि प्रहरीले आन्दोलन मत्थर पार्ने प्रयत्न गर्दै भीडमा गोलीसमेत चलाएको थियो। त्यसक्रममा भीमदत्त नगरपालिका–१८ का १४ वर्षे किशोरसन्नी खुनाको मृत्यु भएको थियो।
घटनाले उग्ररुप लिएपछि अनुसन्धानमा लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै गृह मन्त्रालयले तत्कालीन कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको थियो।
गृह मन्त्रालयले अनुसन्धानमा खटिएका सीआईबीका तत्कालीन डीएसपी अंगुर जीसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउँदलाई पनि निलम्बन गरेको थियो।