विराटनगर- प्रतिबन्धित विदेशी मुद्रासहित प्रहरीले विराटनगरबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दीपसिंह रोयलाई प्रहरीले पक्राउ गरेको हो।
भारतबाट नेपालतिर आउँदै गर्दा उनीहरुलाई विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट प्रहरीले पक्राउ गरेको हो।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पक्राउ परेकाहरुको साथबाट अवैध भारतीय रुपैयाँ र अमेरिकी डलर बरामद भएको छ। उनीहरुबाट २ लाख ८ हजार ५०० भारतीय रुपैयाँ बरामद भएको छ।
राईका अनुसार ५०० दरका ४१७ थान भारतीय नोट बरामद गरिएको हो। पक्राउ परेकाको साथबाट २ हजार २१४ डलर अमेरिकन डलर पनि फेला परेको उनले बताए।
नेपालमा ५०० दरमाथिको भारतीय नोट बोक्न प्रतिबन्ध लगाइएको छ। अमेरिकी डलर पनि प्रयोजन खुलाएर सीमित मात्रै बोक्न पाइने प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।