काठमाडौं। स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने विद्यमान अवस्था हुँदाहुँदै सरकारले तयारी सेनेटरी प्याड ल्याउँदा ५ प्रतिशत भन्सार दर तोकेपछि आधा दर्जन बढी उद्योग गम्भीर संकटमा पुगेका छन्।
एकातिर तयारी सेनेटरी प्याडको भन्सार ५ प्रतिशत तोकिएको छ भने अर्कातर्फ त्यसको कच्चा पदार्थ ल्याउँदा उद्योगीले २५ प्रतिशत भन्सार तिर्नुपरेको र प्रतिस्पर्धी क्षमतामा ठूलो ह्रास आएकाले उद्योगमा गरिएको लगानी जोखिमउन्मुख भएको उनीहरुको गुनासो छ।
सरकारले स्वदेशी उद्योग प्रवर्द्धन नीति लिए पनि अव्यावहारिक कर निर्धारण गर्दा यस क्षेत्रको लगानी समस्याउन्मुख भएको हो। उद्योगीका अनुसार सेनेटरी प्याड बनाउन आवश्यक कच्चा पदार्थ आयातमा २० प्रतिशत भन्सार, ५ प्रतिशत अन्तःशुल्क लाग्छ। तर, तयारी वस्तु आयात गर्दा जम्मा ५ प्रतिशत मात्रै भन्सार लाग्छ।

जबकि सरकारले तयारी वस्तु र कच्चा पदार्थबीच एक तहको भन्सार दर फरक पार्ने नीति लिएको छ। सरकारको उक्त नीति यसमा लागू भएको छैन।
सरकारले तयारी वस्तुको भन्सार ५ प्रतिशत राख्ने हो भने कच्चा पदार्थ आयातमा शून्य भन्सार दर निर्धारण गर्नुपर्ने हो। यहाँ उल्टो कच्चा पदार्थको भन्सार २५ प्रतिशत राखिएको छ। चर्को मूल्य तिरेर ल्याएर बनाएको तयारी वस्तुले ५ प्रतिशत भन्सार तिरेर छिरेको वस्तुसँग कसरी प्रतिस्पर्धा गर्न सक्छ?
उद्योगीका अनुुसार यस्ताखाले सरकारी सोच रहेसम्म लगानीकर्ताले लगानी गर्दैनन्। अहिले अर्थमन्त्री विष्णुप्रसाद पौडेल व्यवसायीको मनोबल उकास्न लागिरहेका बेला यस्ताखाले करभित्रका बेथिति निरुपण गर्नुपर्ने उनीहरुको भनाइ छ।
‘व्यवसायीको मनोबल यस्ता समस्यालाई सुल्झाएर मात्रै बढ्छ,’ एक उद्योगीले भने, ‘भाषणले मनोबल बढ्दैन। व्यावहारिक समस्या हलपछि आफैं लगानी वातावरण बढ्छ।’
तत्कालीन अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थापन विद्येयकमार्फत सेनेटरी प्याड उद्योगलाई संरक्षण गर्न तयारी वस्तुमा कर बढाएका थिए। त्यसपछि अभियन्ताले रातो कर माफ गर भन्दै सरकारविरुद्ध आन्दोलन चर्काएपछि शर्माले नै तयारी सेनेटरी प्याडको ५ प्रतिशत र कच्चा पदार्थको २५ प्रतिशत पुर्याएका थिए।
सरकारले सेनेटरी प्याड बनाउन आवश्यक पर्ने कच्चा पदार्थ आयातमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम २५ प्रतिशतसम्म कर लगाउँछ। जबकि तयारीमा जम्मा ५ प्रतिशत मात्रै छ।

सरकारले सेनेटरी प्याडको भन्सार बढाउनेबित्तिकै आर्थिक वर्ष २०७९/०८० मा ९१ करोडको मात्रै आयात भएको थियो। जबकि आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ११ करोडको सेनेटरी प्याड आयात भएको भन्सार विभागको तथ्यांकबाट देखिन्छ। आर्थिक वर्ष २०७९/०८० मा कम आउनुको कारण नेपाली उत्पादनको माग बढेकाले हो।
तर, आर्थिक वर्ष २०८०/०८१ मा आयात बढेर १ अर्ब ३२ करोड पुग्यो भने आर्थिक वर्ष २०८१/८२ चैतसम्म १ अर्ब ३ करोड पुगिसकेको छ।
सेनेटरी प्याड अत्यधिक मूल्य अभिवृद्धि हुने उत्पादन हुन्। विभिन्न गुणस्तरका उत्पादनमा शतप्रतिशतसम्म मूल्य अभिवृद्धि हुने गर्छ। साथै, कार्टुन, बोरा, र्यापर र कार्टुन टेपजस्ता प्याकेजिङ वस्तु यो उद्योगमा ठूलो परिमाणमा खपत हुने भएकाले स्वदेशी प्याकेजिङ वस्तु उत्पादनका उद्योगले ठूलो व्यापार पाउने सम्भावना रहन्छ।