काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित अटो निर्मातामाथिको महसुल प्रभाव कम गर्न सहमत भएको अमेरिकी मिडियाले उल्लेख गरेका छन्।
यो कदम राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो एक सय दिन पूरा भएको अवसरमा डेट्रोइट नजिकै मंगलबार राती हुने ट्रम्पको र्यालीअगावै आएको हो।
द वाल स्ट्रिट जर्नलले पहिलो पटक रिपोर्ट गरेअनुसार यो परिवर्तनको अर्थ कार आयातमा २५ प्रतिशत भन्सार महसुल तिर्ने कम्पनीले फलाम र अल्मुनियमजस्ता अन्य शुल्क तिर्नुपर्दैन।
जर्नलका अनुसार प्रशासनले मे ३ मा लागू हुनुपर्ने विदेशी अटो पाट्र्समा केही प्रतिपूर्ति पनि अनुमति दिइरहेको छ।
भन्सार महसुलले मेक्सिको र क्यानाडाबाट आयात प्रभावित पार्ने हुनाले अमेरिकी अटो निर्माता सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हुन्।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतामा पुनः वार्ता गरेपछि डेट्रोइट कार निर्माताले ती बजारमा लगानी कायम राखे।
विश्लेषकले भन्सार महसुलले उच्च मूल्य निम्त्याउन सक्ने भन्दै यसले अमेरिकी कार बिक्रीलाई घटाउने र रोजगारीलाई खतरामा पार्ने चेतावनी दिएका छन्।
जर्नलका अनुसार वाणिज्यमन्त्री हावर्ड लुटनिकले ट्रम्पले महत्त्वपूर्ण साझेदारी निर्माण गरिरहेको बताए।
‘यो सम्झौता पहिले नै घरेलु रूपमा उत्पादन गरिरहेका कम्पनीहरूलाई पुरस्कृत गरेर राष्ट्रपतिको व्यापार नीतिका लागि ठूलो जित हुनेछ भने अमेरिकामा लगानी गर्न र घरेलु उत्पादन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्ने निर्मातालाई एक मार्ग दिनेछ’, लुटनिकले भने।
अमेरिकी अटो निर्माताले परिवर्तनलाई स्वागत गरेका छन्।–एजेन्सी