काठमाडौं। वीरगन्जमा नेपाली महावाणिज्य दूतावास, कोलकाताको आयोजना र वीरगञ्ज उद्योग वाणिज्य संघको सहकार्यमा भारतको हल्दिया र कलकत्ताबाट वीरगञ्जसम्म हुने अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित क्षेत्रमा हाल भोग्नुपरेका समस्या र आगामी कार्यदिशासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आयात निर्यात क्षेत्रमा आइपर्ने व्यावहारिक एवं नीतिगत समस्याको पहिचान गरी समाधानका उपाय खोज्ने र कोलकाता अनि हल्दिया पोर्टका साथै आईसिपी र आईसिडीसँग जोडिएका व्यावहारिक कठिनाइलाई संयुक्त सहकार्यमा समाधान गर्न सकिने बताए।
नेपाली महावाणिज्य दूतावास कोलकाताका महावाणिज्यदूत झक्कप्रसाद आचार्यले कोलकाताको कार्यक्षेत्र, उपलब्ध गराउँदै आएका सेवाबारे जानकारी गराए। उनले आयात निर्यातका क्रममा नेपाली उद्योगी÷व्यवसायीले कोलकाता, हल्दियालगायतका पोर्टमा आइपर्ने समस्या समाधानका लागि महावाणिज्य दूतावास तत्पर रहेको प्रतिबद्धता जनाए।
कोलकाता महावाणिज्य दूतावासको कार्यक्षेत्रभित्र पर्ने ट्रेड फेसिलिटेसन, पर्यटन क्षेत्रको प्रवर्द्धन र स्तरोन्नतिका लागि विगत वर्षदेखि नै भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै कतिपय समस्या भारतीय उच्चपदस्थ अधिकारीसँग समन्वय गरेर समाधान गर्नुपर्ने हुँदा समन्वय र सहकार्यमा केही समय ढिला हुने गरेको उनको भनाइ छ।
छलफलमा वीउवासंघका कार्यवाहक अध्यक्ष माधव राजपालले मुलुकको आपूर्ति व्यवस्थालाई सन्तुलित तुल्याउन आयात निर्यातले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
नेपालमा आयात हुने सामानको लागत कटौती गरी प्रतिस्पर्धी बनाउँदै जानुपर्नेमा सिपिङ कम्पनीले विभिन्न शुल्कका नाममा आयातकर्ताबाट रकम असुल्ने कार्य गरिरहेकाले नेपालमा आयात हुने सामानको लागत बढ्दै गइरहेको हुँदा यस्ता शुल्क कटौती गर्दै जानुपर्ने धारणा राखे।
उनले सिपिङ कम्पनीले कन्टेनर डिटेन्सन चार्ज, कन्टेनर मेन्टिनेन्स चार्ज, कन्टेनर रिपेयर चार्जलगायतका नाममा नेपाली आयातकर्ताबाट रकम असुल गरिरहेका र यसरी एउटै प्रकृतिको कामका लागि दोहोरो रकम असुलिदा आयातकर्ताले आयात गरेको सामानको लागत पनि बढिरहेको बताए।
सिपिङ कम्पनीलाई तिर्नुपर्ने रकम पठाउन आधिकारिक च्यानल नभएकाले आयातकर्ता अनावश्यक कठिनाइ बेहोर्नुपरिरहेको बताउँदै सिपिङ कम्पनीका सम्पर्क कार्यालय वीरगन्जमा स्थापना हुनुपर्नेमा उनले जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघ– मधेस प्रदेश अध्यक्ष अशोककुमार टेमानीले आयात निर्यातका क्रममा आउने अप्ठेरा समाधानका लागि नेपाली महावाणिज्य दूतावास, कोलकाता, एकीकृत जाँचचौकी, सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगन्ज उद्योग वाणिज्य संघ र सीमावर्ती क्षेत्रमा रहेका उद्योग वाणिज्य संघले सेतुको काम गर्न सक्ने भएकाले यी निकायबीच समन्वय हुनुपर्ने जोड दिए।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रशासन कार्यालयले उद्योग, व्यापारका लागि प्रवर्द्धनात्मक एवं ट्रेड फेसिलिटेसनको काम गर्दै आएको बताए।
छलफलमा सहभागीले कोलकाता, हल्दियालगायतका पोर्ट, एकीकृत भन्सार जाँचचौकी, सुक्खा बन्दरगाह, भन्सार कार्यालयमा भोग्नु परेका समस्या र समाधानका लागि सरोकारवाला निकायले खेल्न सक्ने भूमिकाबारे आ–आफ्ना विचार व्यक्त गरेको वीउवासंघ उपाध्यक्ष आशीषकुमार लाठले जनाए।