काठमाडौं- हालै सांसद पदबाट राजीनामा बुझाएका कांग्रेस सांसद अमरेशकुमार सिंहलाई उनकै गृह जिल्लाका नेताहरूले कारबाहीको माग गरेका छन्।
सर्लाहीका १२ जना नेताले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाएका छन्।
सिंहले बुधबार मात्रै देउवा समक्ष राजीनामा बुझाएका थिए। सर्लाहीमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको उनको आरोप थियो। संसदीय दलका नेता देउवालाई उनले राजीनामा पत्र दिएका हुन्। सांसदले राजीनामा सभामुखलाई बुझाउने व्यवस्था छ।
तर, बिहिबार देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै सिंहकै गृह जिल्लाका नेता तथा कार्यकर्ताले कारबाहीको माग गरेका छन्।
देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नम्बर ४ का नेता–कार्यकर्ता आतंकित भइसकेको भन्दै उनीमाथि कारबाही गर्न स्थानीय नेताहरूको माग छ।
सिंहको पार्टी विरोधी कृयाकलाप तथा व्यवहारले जिल्ला र क्षेत्रमा चिन्ताजनक स्थिति उत्पन्न गराएको आरोप उनीहरूको छ। पार्टीको विधी, विधान, पद्धति र संगठनको निर्णयलाई सधैं बेवास्ता गरी कुल्चेर अगाडि बढ्न खोज्ने, पार्टीका कार्यक्रमहरुमा सहभागी नहुने, कांग्रेसको तर्फबाट निर्वाचित पालिकाहरुलाई आफू अनुकूल काम नगरेमा मुद्दा लगाइदिने धम्की दिने गरेको पत्रमा उल्लेख गरिएको छ।