विराटनगर– मोरङको उर्लाबारी नगरपालिका–८ एभरेष्ट फनपार्कमा आयोजना हुने भनिएको नेकपा (एमाले) उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा बिहीबार तोडफोड भएको छ।
कुर्सी र टेबलको व्यवस्थापन गर्दै बैठकस्थल ठिक्क पारेर दिउँसो १ बजे बैठक बोलाइएको थियो। तर त्यसअघि नै बिहान ११ः३० बजेतिर बैठकस्थलमा तोडफोड भएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आयोजना गरेको बताइएको छ।
एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले घटनाको पुष्टि गरे। उनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्याइएको छ। बैठक बिथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ। उनले तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
तोडफोडको आरोप पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमाथि लागेको छ। तर नेपाल समूहले यसलाई अस्वीकार गरिरहेको छ। तोडफोडमा एमाले भातृ संगठन युवा संघ उर्लाबारीमा आवद्ध कुमार लिम्बू, एलिन लिम्बूसमेतको संलग्नता देखिएको प्रहरीले जनाएको छ। नेपाल समूहमा आवद्ध रहेका दुवै जना घटनापछि फरार बनेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। बैठकस्थलको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
एमाले मोरङ अध्यक्ष ऋषिकेश पोख्रेलले बैठकस्थलमा तोडफोड भए पनि आन्तरिक व्यवस्थापन मिलाएर बैठक सञ्चालन गरिएको बताए।