काठमाडौं। नेपालकै अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकका लागि नयाँ अप्सनका रुपमा ’च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ। दराजले अप्रिल २५ देखि २९ सम्म चल्ने पे डे सेसँगै ‘च्वाइस’ पनि सुरु हुने बताएको हाे।
उक्त अप्सनमा ग्राहकले ग्रोसरी, हाउसहोल्ड, पर्सनल केयर, मदर एण्ड बेबी तथा हेल्थ एण्ड ब्यूटीलगायतका विविध कोटामा युनिलिवर, प्रोक्टर एण्ड ग्याम्बल, ब्रिटान्निया, डाबर, गोद्रेज, पिल्ग्रिम, बेर एनाटमीलगायत फरक तथा ट्रस्टेड ब्रान्डहरूमध्यबाट छानिएका उत्पादन खरिद गर्न सक्ने कम्पनीले बताएको छ।
यस्तै, यो अप्शनमार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका १ हजारभन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्ने छन्। ती उत्पादनहरुको न्यूनतम मूल्य १३० रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ। साथै कम्पनीका तर्फबाट ती उत्पादनहरुको खरिदमा विशेष अफर तथा उन्नत लजिस्टिक सहयोग पनि प्रदान गरिने बताइएको छ।
‘च्वाइस’ ले एकै कार्ट र एकै वेयर हाउस प्रणालीमार्फत किनमेल प्रक्रियालाई अझ सहज बनाउने कम्पनीको विश्वास छ। यस प्रणालीले एकै पटक धेरै सामग्री किन्न, १ देखि ३ दिनभित्र द्रुत डेलिभरी प्राप्त गर्न तथा ३ वा सोभन्दा बढी सामान खरिद गर्दा फ्रि डेलिभरीको सुविधा समेत उपलब्ध गराउने कम्पनीले जनाकारी दिएको छ।
चार वा सो भन्दा बढी सामग्री खरिद गर्ने ग्राहकले उपलब्ध स्टकमा आधारित भएर पहिलो आउनेलाई पहिलो प्राथमिकता दिइने फ्रि गिफ्ट पाउने सुविधा पनि प्राप्त गर्ने छन्। यसैगरी १४ दिनसम्मको बिना झन्झट फिर्ता नीति र ‘लाइटनिङ डिल्स’, ‘अर्ली बर्ड अफर’ तथा ‘फ्ल्याश सेल्स’ जस्ता रोमाञ्चक अफरहरू पनि उपलब्ध हुने कम्पनीले बताएको छ।
दराज एपमा होमपेज तथा “च्वाइस” सर्च फिल्टरमार्फत यो अप्शनमा सजिलै प्रवेस गर्न सकिने छ। यसले प्रयोगकर्तालाई सहज, सरल र उपयोगकर्ता मैत्री अनुभव प्रदान गर्नेमा कम्पनी विश्वास रहेको छ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले ग्राहकहरूको स्तरिय किनमेल अनुभवप्रतिको बढ्दो अपेक्षालाई दृष्टिगत गर्दै ‘च्वाइस’ अप्शनको सुरुवात गर्न लागेको बताएकी छन्। गुणस्तरीय उत्पादनहरु उपयुक्त मूल्यमा, छिटो र निःशुल्क डेलिभरी सुविधासहित उपलब्ध गराउँदै दराजले आफ्नो ब्रान्ड वाचालाई अझ बलियो बनाएको उनको भनाइ छ।