काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।
नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको बताउँदै लगानी गरी राम्रो प्रतिफल लिन सकिने बताएका हुन्।
'मलाई के लाग्छ भने नेपालमा धेरै सम्भावना छ। धेरै क्षेत्रहरू एक्सप्लोर गर्न बाँकी छन्। तर, नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मक रुपमा लिने गरिएको पाइन्छ। अझ, विदेशमा बस्ने नेपालीलाई विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ। म यहाँहरुलाई भन्न चाहन्छु। यदि साच्चिकै विदेशमा गरेको जस्तै लगानी र मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन्,' उनले भने।
उनले हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्तामा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको उल्लेख गरे। 'हालै नेपाल सरकारले दुई दर्जन बढी कानुनहरु सुधार गरेर मुलुकमा लगानीका लागि मार्ग प्रसस्त गर्न खोजेको छ। यो निजी क्षेत्र, विशेष गरी नेपाल उद्योग वाणिज्य महासंघकै पहलमा भएको हो। म नेतृत्वमा आएदेखि नै हामीले मुलुकमा लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउन विशेष पहल गरिरहेका छौँ। वैदेशिक लगानीका साथै गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले पनि आफ्नो केही हिस्सा नेपालका विभिन्न क्षेत्रमा लगानी गराउन सकियो भने हामीले अपेक्षा गरे जस्तो विकास सम्वभ हुन्छ । मुलुकको विकास तपाई हामी सबै मिलेरै गर्ने हो,' उनले थपे।
उनले मुलुकभित्र लगानी गरेर उत्पादन, रोजगारी र राजश्व वृद्धिमा सहयोग गर्न समेत गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई आग्रह गरे।
उनले वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै उक्त कम्पनीमा लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आग्रह समेत गरे।
यस कम्पनीले मुलुकभित्र तथा मुलुकबाहिर रहेका नेपालीहरुको छरिएर रहेको पुँजी संकलन गरी जलविद्युत, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानी गर्न गइरहेको जानकारी गराउँदै ढकालले त्यसमा सहभागिताका लागि विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका थिए।
उनले नेपालमा लगानीको वातावरण सुधार हुँदै गरेको उल्लेख गर्दै हालै नेपाल सरकारले गरेको कानुन सुधारले मुलुकमा लगानीको वातावरण बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायत विभिन्न वक्ताहरुले सम्बोधन गरेका थिए।