काठमाडौं। लगातार दोस्रो उपाधिका निम्ति दृढ ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ को लिग चरण शीर्ष स्थानमा रहँदै टुंग्याएको छ।
भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी एफसीले एनसेल एनएसएल २०२५ को लिग चरणमा पहिलो स्थान सुरक्षित गर्दै अपराजित यात्रा कायमै राखेको छ।
लिग चरणका ६ खेलमा ललितपुर सिटीले १० गोल गरेको थियो भने उसका प्रतिद्वन्द्वीले सिटीमाथि ६ गोल गरेका थिए। लिग चरणमा ६ खेल खेलेको ललितपुर सिटी एफसीले तीन जित र तीन बराबरसहित १२ अंक जोडेको छ।
जारी प्रतियोगिताका सहभागी सात टिममध्येमा ललितपुर नै लिग चरणमा सबैभन्दा धेरै अंक जोड्ने टोलीसमेत हो। यो उत्कृष्ट प्रदर्शनले क्लबको निरन्तरता,रणनीति र जुझारुपलाई प्रतिबिम्बित गर्ने क्लबको धारणा छ।
एनएसएल–२०२३ को विजेता ललितपुर सिटी एफसी अब प्लेअफमा प्रवेश गर्दै दोस्रो उपाधि जित्ने लक्ष्यका साथ अघि बढेको छ।
भाटभटेनी समूहको सशक्त नेतृत्व र प्रतिबद्धताको साथ पाएको क्लबले खेलाडी विकास,प्रशिक्षक टोली र समुदायसँगको सम्बन्धमा निरन्तर लगानी गर्दै आएको छ। जसले नेपाली फुटबलमा नयाँ मापदण्ड स्थापित गरेको छ।
अपराजित,अडिग,अविरल रहँदै प्रतियोगितामा अघि बढिरहेको ललितपुर अब उपाधिमा केन्द्रित छ। लिग चरणमा अपराजित रहँदा ललितपुर प्रतियोगितामा ‘अजेय टोली’ को रुपमा उदाएको छ।
एनएसएल–२०२३ को विजेतासमेत रहेको क्लबले आत्मविश्वास, उत्साह र कुशलतासाथ प्लेअफमा पाइला अघि बढाउँदा सम्पूर्ण देशभरिका फुटबल समर्थकलाई नै प्रेरणा दिइरहेको छ। क्लबको यो अपराजित लयमा प्रायोजक तथा साझेदारहरुको मुख्य भूमिका रहेको जनाएको छ।
क्लबलाई एनएसएल–२०२५ मा प्रभु बैंकले मुख्य प्रायोजन गरेको छ। यस्तै,पावर्ड बाईमा एनसेल रहँदा मुख्य साझेदारमा बीवाईडी, सह–साझेदाहरुमा पेप्सी, स्मार्ट एन्ड ह्यान्डसम, अल आउट, युनाइटेड अजोड इन्स्योरेन्स र फ्रुट जेम्स छन्।
क्लबले यी सबै केवल प्रायोजकको रूपमा मात्र नभई फुटबलको शक्ति र नेपाली खेलमा गर्वको भावना जगाउने विश्वास साझेदार भएको जनाएको छ।
भाटभटेनीले फुटबलमात्रै नभई अन्य खेल र खेलाडीलाई पनि प्राथमिकतासाथ सहयोग गर्दै आइरहेको छ। भलिबलकी उषा भण्डारीलाई ब्रान्ड एम्बासडरको रुपमा सम्झौता गरेको छ।
यस्तै,टेनिसकी सिवानी गुरुङ,स्विमिङका ओलम्पियन शिरिष गुरुङ, नेपाली राष्ट्रिय बास्केटबलकी पूर्वकप्तान सदीना श्रेष्ठ,राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईसँग पनि खेल कौशल र व्यक्तित्व विकासका निम्ति भाटभटेनीले सहकार्य र सहयोग गर्दै आएको छ।