काठमाडौं। हिमालय एअरलाइन्सले प्रयास नेपालसँगको स्टेप टुर्वड्स एजुकेशनमार्फत संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै निर्वाह गर्दै ८औं वर्षसम्म पनि सहयोग जारी राखेको छ। हिमालय एअरलाइन्स्ले आज विभिन्न कक्षाका पाठ्यपुस्तकहरू, नोटबुक, रजिस्टर, जुत्ता तथा अन्य आवश्यक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको हो।
प्रयास नेपालका बालबालिकाहरूलाई आगामी शैक्षिक वर्षका लागि पुनः एक पटक आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गर्दै सहयोगलाई निरन्तरता दिएको हिमालय एअरलाइन्स्ले जनाएको छ।
हस्तान्तरण कार्यक्रमको अवसरमा हिमालय एअरलाइन्स्को ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले विगत आठ वर्षदेखि स्टेप टुर्वड्स एजुकेशनमार्फत प्रयास नेपालसँग संलग्न हुने अवसर पाउँदै आएको उल्लेख गर्दै हरेक वर्ष बालबालिकाहरूलाई आत्मविश्वासी, सक्षम र उज्ज्वल भविष्य बोकेका व्यक्तित्वमा रूपान्तरण हुँदै गरेको हेर्न पाउँदा अत्यन्त खुशी लागेको बताइन्।
उनले भनिन्, “धेरैजसो समाजमा समाहित भइसकेका छन् र स्वतन्त्र रुपमा जीवन यापन गरिरहेका छन्। यस्तो परिवर्तनको साक्षी हुनु साँच्चिकै हृदयस्पर्शी अनुभव हो, हामीले सँगै चालेका हरेक कदमको उद्देश्य र मूल्यलाई यसले अझ पुष्टि गर्दछ।”
प्रयास नेपालकी अध्यक्ष मणि जोशीले निरन्तर सहयोगको लागि हार्दिक आभार व्यक्त गर्दै भनिन्, “प्रयास नेपालको लागि निरन्तर शक्तिको स्तम्भ भएकोमा हामी हिमालय एअरलाइन्स्प्रति हार्दिक आभारी छौँ। उहाँहरूको योगदान भौतिक सहयोगभन्दा धेरै माथि छ, यसले बालबालिकाको जीवनमा प्रोत्साहन र आशामा निरन्तरता ल्याउँछ। हिमालय एअरलाइन्स्लाई १० वर्षको यात्रा पूरा गरेकोमा बधाई छ र हामी आगामी वर्षहरूमा एअरलाइन्स्को निरन्तर सफलताको कामना गर्दछौँ।”