काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर नियुक्तिमा सरकारभित्रै तानातान भएको बताएका छन्।
रुपन्देहीमा बिहीबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले गभर्नर नियुक्तिमा दलहरूबीच भन्दा पनि बिचौलियाको कुरा नमिल्दा तानातान भएको दाबी गरेका हुन्।
उनले स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका समस्याको समाधान गर्न सरकारलाई सुझाव दिए।
‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ। तपाईंहरूलाई लाग्छ, होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन। तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो। यो समूहको हुने कि त्यो समूहको हुने भन्ने टुंगिएको छैन। उनीहरूले कहिले कांग्रेसलाई कहिले एमालेलाई पक्डेका छन्। त्यसैले ढिलो भइराखेको छ,’ उनले भने।
प्रचण्डले दुई तिहाईको सरकार नै बिचौलियाको स्वार्थअनुसार बनेको बताउँदै राम्रो काम गर्ने इमानदार कर्मचारीहरुलाई प्रताडित गरेको, अपमानित गर्ने र निकाल्ने र नराम्रोलाई भर्ती गर्ने काम भइरहेको बताएका थिए।
सत्ता साझेदारी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइलाई उदृत गर्दै प्रचण्डले प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको कुरा आएसँगै सरकार बिचौलियाले चलाउने कुरा पुष्टि भएको दाबी गरे।
उनले भने, ‘पहिले त माओवादी र प्रचण्डले भनेको पूर्वाग्रह हो कि भन्ने लाग्थ्यो होला। अहिले त यो कुरा कांग्रेसका महामन्त्रीहरूले नै भन्न थाल्नुभयो। अब त छ्याङ्ग भयो नि। प्रचण्डले लगाएको आरोप झुटो होइन रैछ, साँचो रैछ भन्ने।’
उनले सरकारलाई बिचौलियकाको स्वार्थअनुसार काम नगर्न सुझाव दिए।