काठमाडौं। नेपाल र भारतबीचको वैदेशिक व्यापार र भन्सार प्रशासनलाई थप सहज बनाउन दुई देशका भन्सार अधिकारीबीच काठमाडौंमा वार्ता सुरु भएको छ।
आजदेखि सुरु भएको वार्ता अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित हुने भन्सार विभागले जानकारी दिएको हो।
वार्तामा दुई देशका भन्सार कार्यालयबीच निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचना अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालवाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली लागू गर्नेलगायत विषयमा छलफल हुने भन्सार विभागका सूचना अधिकारी नारायणप्रसाद रेग्मीले बताए।
यस्तै, आयात–निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टाइन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने विषयमा पनि छलफल हुनेछ।
छलफलमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणालीमार्फत विद्युतीय रुपमा जारी हुने उत्पत्ति प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधीन एकीकृत जाँच–बिन्दु (इन्टिग्रेटेड चेक प्वाइन्ट)लाई लक्षित समयसीमाभित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्नेलगायतका विषयमा समेत छलफल हुने विभागले जनाएको छ।
चैत २८ र २९ गतेसम्म चल्ने वार्तामा नेपालको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गरेका छन् भने भारतको राजस्व इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभयकुमार श्रीवास्तवले गरेका छन्।
नेपालका तर्फबाट वार्ता टोलीमा अर्थय, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा बाली क्वारन्टाइन विभागलगायत निकायका उच्च अधिकारीको सहभागिता छ।
यसैगरी भारतीय टोलीमा राजस्व इन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रीय इकाइका सहायक महानिर्देशक, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव, कोलकाता, पटना, लखनउ भन्सार कार्यालयका प्रमुखलगायतका अधिकारी सहभागी छन्।