मंगलबार, असार ३, २०८२

‘सास माग्दामाग्दै अस्ताइजान्छन् कलकलाउँदा नौजवान’

बिरामीका आफन्त आँखामा टिल्पिल आँसु पार्दै आउँछन् तर मृत्युले न स्वास्थ्यकर्मीको पुकार सुन्छ, न आफन्तको चीत्कार। अस्पतालमा न बेड छ न अक्सिजन।
 |  शनिबार, जेठ १, २०७८

अंगद सिंह

अंगद सिंह

शनिबार, जेठ १, २०७८

काठमाडौं– जीवन बचाउन अहोरात्र खटिइरहेका छन् नर्स। आँखाअगाडि संक्रमितको मृत्यु भइरहेको छ। अक्सिजन, बेड र भेन्टिलेटर नपाउँदा उनीहरूका कतिपय प्रयास सफल हुन सकेका छैनन्। तैपनि घरपरिवार  नभनी नर्सहरु जिम्मेवारीमा खटिइरहेका हुन्छन्। अस्पतालमा दैनिक देखिने यस्ता दारुण दृश्यले साह्रै पीडा छन् उनीहरु।

नर्स कल्पना भन्छिन्, ‘मन काप्छ, दिमागले काम गर्दैन, सास फुल्न थाल्छ। चाहना त अस्पताल आउने हरेकको सास चलिरहोस् भन्ने हुन्छ। तर, अचेल मेरा चाहना जहिल्यै निराशामा गइजान्छन्।’ मृत्युले नर्सको पुकारा सुन्छ न आफन्तको चीत्कार। ‘कोही सास बचाउने आसमा, कोेही अन्तिम पटक लास हेर्ने आसमा अस्पतालमा लाइन छ’, धनगढीस्थित सेती प्रादेशिक अस्पताल कोरोना वार्डकी प्रमुख नर्स कल्पना बिष्ट कुँवर भन्छिन्। 

कोही शव कतिबेला निस्केला र बेडमा आफ्ना बिरामी राखौंला भनी कुरिरहेका हुन्छन्। बेड र अक्सिजनका लागि निन्याउरो अनुहार लिएर डाक्टर–नर्ससँग अनुनय गर्ने त कति कति! तर उनीसँग सरी! बेड र अक्सिजन छैन भन्नुबाहेक अर्को विकल्प हुन्न। ‘बिरामीका आफन्त आँखामा टिल्पिल आँसु पार्दै आउँछन् तर मृत्युले न स्वास्थ्यकर्मीको पुकार सुन्छन्, न आफन्तको चीत्कार’, उनी भन्छिन्। अस्पतालमा न बेड छ न अक्सिजन।

अस्पतालमा बिरामीको चाप अत्यधिक भएकाले भुँइमा राखेर उपचार गर्नेसम्म अवस्था छैन। मृत्यु मडारिरहेको हुन्छ। कसलाई कतिबेला लैजान्छ थाहा हुन्न। 

अस्पतालमा बिरामीको चाप अत्यधिक भएकाले भुँइमा राखेर उपचार गर्नेसम्म अवस्था छैन। मृत्यु मडारिरहेको हुन्छ। कसलाई कतिबेला लैजान्छ थाहा हुन्न। कोरोनाको दोस्रो लहरले कलकलाउँदा नौजवान अस्ताएको देख्दा मन अत्तालिन्छ। ‘तर हाम्रो के नै लाग्छ र? चाहेर पनि बचाउन नसक्दा निकै पीडा हुन्छ’, उनी भन्छिन्, ‘सासको भीख माग्दामाग्दै अस्ताइजान्छन् कललाउँदा नौजवान।’

कोरोना समुदाय स्तरमा फैलिसकेकाले भयावह अवस्था आएको विष्टको भनाइ छ। उनलाई दैनिक दैनिक १२ देखि २४ घण्टासम्म ड्युटीमा खटिनुपर्छ। ‘बिरामी बचाउन हरसम्भव प्रयास गरिरहन्छौं तर, बेड र अक्सिजन नहुँदा निरीह हुन्छाैं।’ आँखै अगाडि कलकलाउँदा मान्छे बित्दा मन भक्कानिन्छ,’ उनी भन्छिन्।

सेती अस्पताल कोरोना वार्डकी प्रमुख नर्स कल्पना बिष्ट कुँवर।

संक्रमितले सेती अञ्चल अस्पतालको कोरोना वार्ड मात्रै भरिएको छैन। इमर्जेन्सी वार्ड, सर्जिकल वार्ड, ग्यालरी र बरन्डासमेत भरिभराउ छन्। बिरामीको चाप बढी भएकाले निकै चटारोमा छन् स्वास्थ्यकर्मी। ‘खाना खाने त परको कुरा पानी पिउनेसम्म फुर्सद हुन्न’, कल्पना भन्छिन् ‘एक सेकेन्डमा धेरैको सास अड्केको हुन्छ।’

तराईकोे गर्मीमा पीपीई र मास्क खोल्ने फुर्सद हुन्न उनीहरुलाई। कल्पना भन्छिन्, ‘एकातिर संक्रमितलाई हेर्नुपर्छ, अर्कोतिर होेम आइसोलेसनमा बसेकाको तारन्तार फोन आइरहन्छ। उनीहरुलाई परामर्श र हौसला दिनुपर्छ।’ स्वास्थ्यकर्मीको खुसी बिरामी निको हुनुमा हुन्छ, स्वस्थ भई घर फर्किनुमा हुन्छ। बिरामी निको हुँदा थकान आफैं मेटिने स्वास्थ्यकर्मीको अनुभव छ।

‘बिरामी निको हुँदा त भोगेका दुःख र झेलेका तनाव मिनेटमै सकिन्छन्’, उनी भन्छिन्, ‘पीडा त त्यतिबेला हुन्छ जब बचाउने प्रयास गर्दागर्दै जीवन धपक्क निभ्छन्।’ अन्तिम अवस्थामा अस्पताल पुगेका भने जीवितै घर फर्कने सम्भावना असाध्यै कम हुन्छ। अस्पतालमा छँदा मात्र होइन ड्युटी सकेर घर फर्कंदा पनि मनचाहिँ अक्सिजन र बेड नपाएर छटपटाइरहेका बिरामीको आसपास डुलिरहन्छ। 

‘घर जाँदासमेत अस्पतालमा सासको आशामा भट्किरहेका बिरामीको याद आइरहन्छ। पलपल मृत्युसँग लडिरहेका संक्रमितका अनुहारले व्याकुल बनाउँछ’, कल्पना भन्छिन्। बिरामीलाई बेड र अक्सिजन मिलाइदिने मात्रै होइन, खाना खुवाउने, कपडा लगाइदिने लगायतका सबै रेखदेख गर्नुपर्छ उनले। इमर्जेन्सी र सर्जिकल वार्डमा उपचार गराइरहेका बिरामीको जिम्मेवारीसमेत उनकै काँधमा छ। उनी भन्छिन्, ‘यो मिलाउ त्यो मिलाउ। दायाँबायाँ र तलमाथि दौडधुपमै बित्छ दैनिकी।’

‘पलभरमै कैयाैंकाे अक्सिजन लेबल निकै घटिसकेको हुन्छ। उनीहरुलाई आईसीयू र भेन्टिलेटर आवश्यक पर्छ।  विडम्बना, अस्पतालमा भेन्टिलेटर–आईसीयू नै बाँकी छैन।'

उनी हरेक संक्रमितकोे बेडमा पुग्छिन्। केही नभएको जस्तो देखिए पनि धेरै कुरा भइसकेको हुन्छ वार्डमा। ‘पलभरमै कैयाैंकाे अक्सिजन लेबल निकै घटिसकेको हुन्छ। उनीहरुलाई आईसीयू र भेन्टिलेटर आवश्यक पर्छ।  विडम्बना, अस्पतालमा भेन्टिलेटर–आईसीयू नै बाँकी छैन’, नर्स विष्ट भन्छिन्।

एक सेकेन्ड पनि यताउति भयो भने बिरामी सधैंका लागि गइजान्छन्। ‘समयको महत्त्व झन् बुझ्दै छु’ भावुक मुद्रामा उनले भनिन्। क्सिजन मात्रै भइदिए धरै संक्रमितको ज्यान बचाउन सकिथ्यो लाग्छ उनलाई। कोरोना संक्रमितको उपचारमा खटिँदा कतिपटक आफैं संक्रमित भइसकिन् थाहा छैन कल्पनालाई।

‘परीक्षण गरेपछि त पक्कै कोरोेना देखिन्छ जस्तो लाग्छ, सेवा नै कर्म हो, कर्म नै सेवा हो, यही मूलमन्त्रका साथ काम गरिरहेका छौं। सकुन्जेल गरिरहन्छौं’, कल्पनाले सुनाइन्। बिरामीलाई बाँच्न रहर हुन्छ। घरपरिवारले निको हुने आशा पालेको हुन्छ। आँखा रसाएका हुन्छन्। अनुहारमा रोदन हुन्छ। यस्ता दृश्यले मन दुख्छ उनको।

‘बिरामी बचाउन कुनै कुसर बाँकी राख्दैनौं। हामी, हाम्रो परिवार संक्रमित भए पनि यस्तै अवस्था आउँछ। आफ्नै परिवार सम्झेर  लागिपर्छौं।’

कतिपयलाई बचाउने हरसम्भव प्रयास गर्दा पनि सकिँदैन। कुरुवालाई आफन्त मरेको खबर सुनाउन निकै सकस हुन्छ स्वास्थ्यकर्मीलाई। कल्पनाको भोगाइमा बयान गर्न नसकिने यस्ता भयानक चित्र डेरा जमाएर बसेका छन। उनलाई आफन्तले छुन र हेर्न नपाउने बिरामीको सेवा गर्न पाउँदा आनन्द लाग्छ। ‘बिरामी बचाउन कुनै कुसर बाँकी राख्दैनौं। हामी, हाम्रो परिवार संक्रमित भए पनि यस्तै अवस्था आउँछ। आफ्नै परिवार सम्झेर  लागिपर्छौं’, उनले भनिन्। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ८३५ नमूना परीक्षण गर्दा ५५५ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार कैलालीका ५३४ जना छन्। सोमध्ये धनगढी उपमहानगरपालिकाका २७२ जना रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

श्रेष्ठले अन्य जिल्लाका २० जनामा समेत संक्रमण पुष्टि भएको बताए। उनले हाल अस्पतालमा १०८ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए। सोमध्ये एक जनाको भेन्टिलेटरमा र १४ जनाको आईसीयूमा उपचार भइरहेको छ। ९० जनाको अक्सिज सपोर्टमा र २९ जनाको इमरजेन्सी कक्षमा राखेर उपचार भइरहेको उनले बताए। 

अस्पताललाई दैनिक १ सय ५० भन्दा बढी अक्सिजन सिलिन्डर आवश्यक परे पनि अस्पतालको प्लान्टबाट दैनिक ५५ सिलिन्डर मात्रै उपलब्ध हुने गरेको छ। अस्पतालमा हाइडिपेन्डेन्सी युनिट (एचडीयू) १० वटा, आईसीयू २० वटा र  भेन्टिलेटर १० वटा छन्। अस्पतालमा २ सय ९५ बेड छन्। तीमध्ये ८५ आइसोलेसन बेड, ५ एचडीयू बेड, १५ आईसीयू बेड र ५ कोभिड–१९ भेन्टिलेटर छन्।

सेती अस्पतालमा बेड नभएपछि पालमुनि राखेर कोरोना संक्रमितको उपचार गरिँदै। तस्बिर : भीम चौधरी

अस्पतालमा उपचाररत ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको बर्दगोरिया गाउँपालिका–२ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका–१० का ५८ वर्षीय महिला, वडा नम्बर १ का ४१ वर्षीय पुरुष र वडा नम्बर १० का ६४ वर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५३ वर्षीय पुरुष र बैतडीको दशरथचन्दका ३६ वर्षीय पुरुषको मृत्यु भएको छ।
योसँगै सेती अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या १२६ पुगेको छ। कोरोनाको पहिलो लहरमा अस्पतालमा उपचाररत ३३ जना कोरोना संक्रमितको मृत्यु भएको श्रेष्ठले बताए। 
 

प्रकाशित: May 15, 2021| 12:55 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।