काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आह्वान गरेकी छन्।
काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउण्डेसन फर इकोनोमिक ग्रोथ एण्ड वेल्फर’ (ईग्रो फाउण्डेसन)को आयोजनामा नयाँ दिल्लीमा आजदेखि सुरु ‘भारत-नेपाल आर्थिक सम्मेलन’ (इण्डो-नेपाल इकोनोमिक कन्फ्रेन्स)मा उनले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवद्र्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गरेकी थिइन्।
मन्त्री राणाले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था पनि रहेको उल्लेख गरेकी थिइन्। नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराए।
मन्त्री राणाले नेपाल-भारत सम्बन्धलाई केवल आर्थिक रुपमा मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनु पर्नेमा जोड दिइन्। दक्षिण एशियाको क्षेत्रीय सहकार्यका लागि नेपाल-भारत सम्बन्धलाई एक उदाहरणीय ढाँचाका रूपमा विकास गर्नुपर्ने उनको धारणा थियो।
उनले नेपाल र भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताउँदै दुई देशबीचको सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धलाई प्राथमिकताका साथ थप मजबुद बनाउँदै लगिनुपर्ने बताएकी थिइन्।
सम्मेलनमा परराष्ट्रमन्त्री राणाले दुई देशबीच भएको सम्झौता विद्युत् व्यापार सम्झौताले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत भारतलाई निर्यात गर्ने योजनाअघि सारेको र नेपालले हालै भारतको प्रशारण लाइनमार्फत् बंगलादेशलाई ४० मेगावाट विद्युतु बिक्री गर्न सक्षम भएको बताए।
भारत नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार, प्रत्यक्ष वैदेशीक लगानीमा ठूलो योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यापार र कनेक्टिभिटीका लागि पारगमन देश भएको उनको भनाइ थियो।