बिहीबार, असार ५, २०८२

गणतन्‍त्रका लागि जोगीले दिएको पाँचको नोट !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- रूविन गन्धर्वले गीतमार्फत् गणतन्त्रका पक्षमा आन्दोलनमा आउन आह्वान गरिरहेका थिए । नागरिक समाजका अगुवाहरू पनि सडकमा उत्रिन थालेका थिए । हामी कलाकारहरू भने ०४६ सालपछिका राजनीतिक दलहरूका गतिविधिबाट सन्तुष्ट थिएनौं । 

महँगी र बेरोजगारी न्यूनीकरण तथा राजनीतिक स्थायित्व र स्थिरताका लागि काम गर्लान् भन्ने अपेक्षा थियो । तर, दलहरू ठीक उल्टो बाटो हिँडे । कुर्सी तानातानको खेलमा लागे । 

भ्रष्टाचारको दलदल र कुशासन देखेर सडकमा हाम फालिहाल्ने मनस्थितिमा थिएनौं, हामी । तर, विस्तारै हामीलाई राजनीतिक पार्टीहरूको मात्रै मुख हेरेर बस्नु हुँदैन भन्ने महशुस भयो । र, नेपाली जनताको अनुहार सम्झेर सडकमा निस्कियौं । 

हामी (मह जोडी) काठमाडौं मोडेल अस्पतालको संस्थापक सदस्य थियौं । प्रदर्शनीमार्ग नजिकको त्यो अस्पताल हाम्रा लागि आन्दोलनमा उत्रिने ऊर्जा बन्यो । आन्दोलन चर्किंदै गयो, घाइते पनि दिन प्रतिदिन बढ्दै थिए । 

भिडियोमा हेर्नुस् हरिवंश आचार्यको अनुभूति 



अनि कोष खडा गरियो

हामीले मोडेल अस्पतालले मात्र घाइतेको चाप थेग्न सक्ने देखेनौं । अनि, एक लाख रुपैयाँ राखेर 'जनआन्दोलन प्राथमिक कोष' स्थापना गरियो । मदन दाइ (मदनकृष्ण श्रेष्ठ) र मेरो नेतृत्वमा खडा भएको कोषमा डाक्टरहरूले थप एक लाखको 'सिड मनी' राखिदिए । 

कान्तिपुर टेलिभिजनले 'न्युज स्क्रलिङ'मा कोषमा सहयोग गर्न आग्रहसहितको विज्ञापन राखिदियो । त्यसपछि सहयोगी हातहरू बढ्न थाले । 

कलाकारको जमघट बढ्दै गयो, सडकमा । आन्दोलनलाई थप ऊर्जाका साथ बढाइरहेका थियौं । राजधानीमा संकटकाल घोषणा गरिएको थियो । आन्दोलनमा लागेकालाई गिरफ्तार गरिँदै थियो । सुरक्षाकर्मीहरूको त्रास अति नै थियो । 

त्यसका बावजुद 'मेरो नाम नदिनूस् तर मेरोतर्फबाट एक लाख कोषलाई सहयोग छ' भन्दै व्यापारिक घरानाका व्यक्तित्वहरू आउने क्रम बढ्यो । यही क्रममा एक जना जोगी पनि आए । उनले हामीतिर पाँचको नोट दिँदै भनेका थिए, 'यो आन्दोलनलाई मेरो पनि समर्थन छ ।'

यसपछि त अझ हौसला बढ्यो । आन्दोलनमा सहभागी हुन र सडकमा आउन नसक्नेहरूले नैतिक सहयोग दिइरहे । सहयोगी हातहरूबाट अढाइ करोड रुपैयाँ संकलन भयो । सुरक्षाकर्मीले कोषको पैसा लुटेर लैजान्छन् भन्ने डर पनि उस्तै थियो । 

पैसा सुरक्षित राख्ने, घाइतेहरूलाई बचाउने र आन्दोलनलाई निरन्तरता दिने चिन्ता थियो । 

बैंकमा पैसा राखिदिन व्यापारी राजेन्द्र खेतानसँग सहयोग माग्यौं । तर, उहाँले भौचर नदिई पैसा राखिदिने शर्त तेस्र्याउनुभयो । हामीसँग विश्वास गर्नुको विकल्प थिएन । उहाँले पैसा लगेर बैंकमा राखिदिनुभयो । अनि, जनआन्दोलनका घाइतेलाई धमाधम उपचार गर्न लागिपर्‍यौं । 
 

गणतन्त्र खाने होइन, महशुस गर्ने चिज हो । गणतन्त्र आयो तर त्यसको महशुस हुन सकेन, जनतालाई ।


झल्झली आँखामा शहीदहरू

मलाई याद छ, वागबजारका एक 'टेलर मास्टर'लाई टाउकोमा गोली लागेको थियो । उनलाई मोडेल अस्पताल लग्यौं । डा. वसन्त पन्तले हेर्नुभएको थियो, शायद । भोलिपल्ट उनको निधन भयो । 

प्रद्युम्न खड्कालाई पेटमा गोली लागेपछि अस्पतालमा ल्याइयो । उनलाई नेपालमा उपचार गर्न सम्भव नभएपछि भारत लैजाने कुरा भयो । डा. पन्तसहित मह जोडी भारतीय दूतावास पुगेर एयर एम्बुलेन्सको बन्दोबस्त गरिदिन अनुरोध गर्‍यौं । एयर एम्बुलेन्समा बसेपछि हलुका मुस्कुराएर हात हल्लाउँदै उनी बिदा भएका थिए । तर, त्यो नै उनीसँगको अन्तिम भेट बन्यो, शहीद भए गणतन्त्र नेपालको । 

विष्णुलाल महर्जन पनि शहीद भए । आन्दोलनको हुलले उनलाई किच्यो । र, दुवैतिरको करङको 'रिप्स' भाँचियो । जापानबाट डा. ताहिरा आएका थिए । उनले महर्जनलाई बचाउने धेरै प्रयास गरे । तर, सकेनन् र उनी पनि शहीद भए । 

मुकेश कायस्थ घाइते भएपछि वीर अस्पताल लगिएको थियो । प्राथमिक उपचार गरियो । जनआन्दोलन कोषबाट मोर्डन अस्पतालमा पाँच हजार घाइते विरामीलाई उपचार गरियो । कतिलाई बचाउन सकियो, कति शहीद भए । घाइतेमध्ये अधिकांश हड्डीका बिरामी थिए । विष्णुलाल महर्जनलाई चार वर्षसम्म कोषले नै उपचार गर्‍यो । 

जनताको पैसाले कोष बनेको थियो । हिनामिना हुने डर पनि थियो । कृष्णजंग रायमाझी, विष्णुविभु घिमिरे, कनकमणि दीक्षित, विष्णु निष्ठुरीलगायत मिलेर समिति बनाइयो । घाइतेको उपचार गरेर बचेको ५० लाख रुपैयाँ थियो । फेरि पनि यस्ता दुर्घटना हुनसक्छन् भन्ने सोचेर मोर्डन अस्पताललाई हामीले कोष हस्तान्तरण गर्‍यौं । 

लुकीलुकी जर्किनमा पेट्रोल, डिजेल र ग्यास ल्याउँथ्यौं । विरामीका कुरुवाहरूलाई भोकबाट बचाउन गाह्रो थियो । 


प्रहरी, प्रशासनको पनि सहयोग

कफ्र्यु लागिरहेको थियो । सबै स्रष्टा एकजुट भएका थिए । पुरानो बानेश्वरको गुरुकुल थिएटरमा जम्मा हुँदै थियौं । कफ्र्यु तोडेर आन्दोलन चर्काउन थालेका थियौं । 

तर, त्यहाँ पनि गोली चल्यो । हामी बानेश्वरको गल्ली-गल्ली भाग्यौं । चार वर्षपछि एक इन्स्पेक्टरले मलाई सोधेका थिए, आन्दोलनको बारेमा । गोली आफूले प्रहार गरेको ती इन्स्पेक्टरले स्वीकारेका थिए । र, उनले नलाग्ने गरी प्रहार गरेको पनि बताए । उनको भनाइबाट थाहा हुन्छ, प्रहरी र प्रशासनले पनि अप्रत्यक्ष रूपमा आन्दोलनकारीलाई सहयोग गरिरहेका थिए ।

नागरिक समाजले आन्दोलन चर्काएपछि मात्र राजनीतिक दलहरूको मनोबल बढेको थियो । सबै पार्टीका नेता कफ्र्यु तोडेर जुलुसमा सहभागी भए । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग हातमा हात मिलाएर हामी माइतीघरबाट बानेश्वरसम्म जुलुसमा हिँडेको हिजैजस्तो लाग्छ । 

भोकाएका नेता, थारो भैंसीजस्तो गणतन्त्र

गणतन्त्र आयो तर फेरि बहुमतको खेल भयो । सभासद्हरूको किनबेच पहिलेजस्तै कायम रह्यो । चुनाव जित्नेहरू सबै राम्रा पनि थिएनन् । त्यसैले थारो भैंसीजस्तो भयो, गणतन्त्र । 

राजनीतिकभन्दा पैसा कमाउने चरित्र हावी भयो । केही राजनीतिज्ञको जीवनशैली हेर्दा लाग्छ, उनीहरू धेरै सम्पत्तिका मालिक भएका छन् । 

आजको दिनसम्म पनि राजनीतिक स्थायित्व भएन, जसका कारण जनताको आकांक्षा पूरा गर्न गाह्रो भएको छ । हाम्रोजस्तो भूपरिवेष्ठित देशलाई नेपालीले भन्दा बाह्य मुलुकले बढी चलाएझैं लाग्छ । र, त्यसैको शिकार भइरहेका छौं ।

सामरिक दृष्टिबाट हेर्ने हो भने दुई ठूला राष्ट्रको बीचमा छ, नेपाल । परापूर्वकालदेखि नै खल्तिमा राखिएको मुलुकजस्तो ठानियो, नेपाललाई । नेपालको विकास नहोस्, राजनीतिक अस्थिरता सधैं रहिरहोस् । अस्थिरताको फाइदा उठाउँदै खेल्न पाइयोस् । हामीले नै यो देशलाई निर्देशन गर्न सकौं । नेताहरू हाम्रो औंलामा नाचून् । यस्तो इच्छा बोकेर आएका शक्तिहरू अघिल्तिर नेपालका नेताहरू लम्पसार परे । राजनीतिक पार्टीले सम्झौता गरिरहे । शायद उनीहरू पनि भोकाएकै छन् । 
 

राजनीतिकभन्दा पैसा कमाउने चरित्र हावी भयो । केही राजनीतिज्ञको जीवनशैली हेर्दा लाग्छ, उनीहरू धेरै सम्पत्तिका मालिक भएका छन् । 


गणतन्त्र भनेको खाने होइन, महशुस गर्ने चिज हो । गणतन्त्र आयो तर त्यसको महशुस हुन सकेन, हामीलाई । रोजगारीका बाटाहरू देखाउन सकेनन्, दलहरूले । दक्ष जनशक्ति जन्माउन सकेको छैन, सरकारले । 

दिनप्रतिदिन युवा खाडी मुलुक जानु परेको छ । नेपालीहरू भौंतारिँदै संसारभरि छरिएका छन् । उर्जाशील युवा खाडीको तातो घाममा पिल्सिएका छन् । त्यो ऊर्जालाई नेपालमै काम दिने माहोल सिर्जना भएको खोई ?

राजनीतिबिना देश चल्दैन । तर, यो केही सुकिलामुकिलाको पेवा भयो । तिनैले राज्यलाई सक्न थाले । मिलेर जानुपर्ने हो तर यहाँ हानथाप चलिरहेकै छ । राजनीतिको मैदानमा उभिएर फोहोरी खेल मात्रै खेलिरहे । गणतन्त्रको चाहना भनेकै राजनीतिक स्थायित्व र सुशासन हो । 

पछिल्ला दिनमा केही राम्रा लक्षण पनि देखिएका छन् । हेरौं, आशा कत्तिको बचाउँछन्, नेताहरूले ।

ठूलो घर बनाउँदा पनि दुई वटा ढोका बनाइन्छ । कथंकदाचित एउटा ढोकाबाट केही आपत आइलाग्यो भने अर्को ढोका खोल्न सकिन्छ । नेपालका लागि पनि चीन र भारत दुई वटा ढोका हुन् । दुवै ढोकाबाट व्यापार गर्नुपर्छ । एउटै ढोकामा निर्भर रहनु सही होइन कि !

गणतन्त्रका लागि कलाकारले यादगार भूमिका निर्वाह गरेका थिए । आम जनमानसबाट कलाकारले पनि देश बनाउन सक्छन् भन्ने आवाज आउनु त्यही योगदानको कदर हो । 

कलाकारले संगठन खोल्ने नभई कलाकारिता नै गर्ने हो । राजनीति पनि कला हो तर यो कला रंगमञ्चमा देखाएकोजस्तो पक्कै हुनु हुँदैन । कलाकारले राजनीतिका उच्च ओहोदामा पुग्ने रहर गर्नु उचित हुँदैन । 

दलहरूमा संघर्ष गर्दै दिनरात लागिपरेका युवा पछाडि परेका छन् । कलाकार अरूको दलमा पसेर सीधै नेता बन्नु बेकार हो । देश हाँक्ने शक्तिमा पुग्न सक्नु सानो कुरा होइन । म रंगमञ्च, टेलिभिजन र ठूलो पर्दामा जति जम्न सकेको छु, त्यति राजनीतिमा जम्न सक्दिनँ । 

राजनीतिज्ञहरूलाई सपार्नुको विकल्प छैन । सबै राजनीतिककर्मी गलत पनि हुँदैनन् । नजान्ने मान्छेलाई देश चलाउन दिँदा नै दुर्घटना निम्तिने हो । 

हामी आफ्नो जन्मदिन मनाउँछौं । पितृहरूलाई पनि वर्षमा एक पटक सम्झन्छौं । तर, एक दिन मात्रै सम्झेर गणतन्त्र हुनुको भाव झल्किँदैन । सधैं सम्झिन सक्नुपर्छ । गणतन्त्रलाई सार्थक बनाइराख्न हामीले देशको हितमा काम गर्नु पर्‍यो । मुलुकको विकासमा लाग्नु पर्‍यो ।

सबै दलले विकासका लागि एकअर्कालाई सहयोग गर्नुपर्छ । समर्थन गर्दैमा इज्जत जाँदैन । गणतन्त्रका नाममा लुटतन्त्र मौलायो । यस्तो विकृति अन्त्य गरियो भने मात्र गणतन्त्र हुनुको सार्थकता रहन्छ ।
(राज सरगमसँग कुराकानीमा आधारित)
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...