काठमाडौं– नेकपा (एमाले)को माधव नेपाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ।
आज मंगलबार उक्त समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरेको हो। कमिटीमा १७५ जना छन्।
कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाईं छन् भने सदस्यमा वसन्त मानन्धर, विष्णु देवकोटा, पेम्बा तामाङ, टोकबहादुर वाइबालगायत छन्।
उक्त समूहले बागमतीका ११ वटै जिल्लामा अध्यक्ष तथा पदाधिकारी तोकेको छ।
काठमाडौंको अध्यक्षमा वसन्त मानन्धर, काभ्रेमा टोकबहादुर वाइबा, मकवानपुरमा मुनु सिग्देल, चितवनमा तेजेन्द्र खड्का र धादिङमा शिवराज कँडेल चयन भएका छन्।
त्यसैगरी सिन्धुलीमा सूर्य पाख्रिन, रसुवामा पेम्बा तामाङ, रामेछापमा शान्ति पौडेल, भक्तपुरमा रजन केसी, सिन्धुपाल्चोकमा झंक नेपाल, हरिकृष्ण थापा र नुवाकोटमा नारायण खतिवडाको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको छ।
त्यसैगरी नेपाल समूहले बागमतीका सबै जिल्लामा इन्चार्ज पनि तोकेको छ।
काठमाडौंमा सावित्रा भुसाल, रसुवामा माधव अर्याल, सिन्धुलीमा कमलजंग राई, भक्तपुरमा सोमप्रसाद मिश्र, मकवानपुरमा विरोध खतिवडा, चितवनमा कृष्ण खनाल, सिन्धुपाल्चोकमा अरुण नेपाल र रामेछापमा देवशंकर पौडेल इन्चार्ज तोकिएका छन्।
दुई दिन अघिमात्रै नेपाल खनाल समूहले काठमाडौं जिल्ला कमिटी घोषणा गरेको थियो। वसन्त मानन्धरको नेतृत्वमा गठित कमिटीमा २५० जना छन्।
अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि नेपाल खनाल समूह रुष्ट छ।
यसअघि नै उक्त समूहले विभिन्न जिल्ला र भ्रातृ संगठनहरूमा समानान्तर कमिटी गठन गरिसकेको छ।
संस्थापन समूहले भने समानान्तर कमिटीमा बस्नेलाई कारबाही हुन सक्ने बताएको छ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सोमबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताए।
लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैरकानुनी र गैरसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि उनले बताए। उनले भने, ‘समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य छैन।’