काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन देश सम्मिलित फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। नेपाल, बंगलादेश र किर्गिस्तानबीच खेल हुन लागेको हो।
एन्फाले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार चैत ९ देखि आयोजना हुने थ्री नेसन्स (त्रिदेशीय) फुटबलको फाइनल १९ गते हुनेछ।
तालिकाअनुसार नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्नेछ। दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल बंगलादेश र किर्गिस्तानबीच हुनेछ।
नेपालले पहिलो खेल १२ गते किर्गिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १४ गते बंगलादेशसँग खेल्नेछ।
चार खेलको प्रतियोगितामा लिग चरणमा तीन खेल हुनेछन्। सिंगल राउन्ड रोबिन शैलीमा लिग चरणमा शीर्ष दुई स्थान हात पार्ने टोली उपाधिका भिड्नेछन्।
नेपालले पछिल्लो समय गत कात्तिक २८ र मंसिर २ गते बंगलादेश गएर त्यहाँको राष्ट्रिय टिमसँग खेलेको थियो। पहिलो खेलमा २–० गोलको हार बेहोरेको नेपालले दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो।