काठमाडौं- चन्द्र तामाङ र रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
पुरुषतर्फ चन्द्र र महिलातर्फको खेलमा रमिसा उत्कृष्ट बनेका हुन्। उत्कृष्ट बनेका चन्द्रले मोटरसाइकल र महिलातर्फकी उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त गरेका छन्।
शनिबार भएको पुरुष ६९ केजी तौल समूहको फाइनलमा चन्द्रले करणसिंह ठकुरी र महिला ४८ केजीमा रमिसाले सुस्मिता तामाङलाई हराउँदै स्वर्ण जितेका थिए।
महिला ५१ केजीमा रोशनी राईले हरिना ऐरलाई हराउँदै स्वर्ण जित्दा महिलाकै ५४ केजीमा सुशीला ब्लोनले सदीक्षा मगरलाई स्तब्ध बनाउँदै पहिलो स्थान हात पारिन्।
५७ केजीमा डोल्मा तामाङ, ६० केजीमा डिचेन शेर्पा र ६४ केजीमा हेमा राई स्वर्ण जिते।
पुरुषको ४९ केजीमा नुवाकोटका मोहन गुरुङले काभ्रेका धमेन्द्र राईलाई पराजित गर्दै पहिलो भए। ५२ केजीमा कोट्स्य भैरवका सुमन नेपालीले बक्समान्डुुका वाङ्दी शेर्पालाई स्तब्ध बनाउँदा पुरुषकै ५६ केजीमा कोट्स्य एचटुओका बुद्ध लामाले भैरवका प्रशान्त लामा र ६० केजीमा बक्समान्डुका गणेश थापाले नक्सालका मौसम रानालाई पराजित गर्दै स्वर्ण जिते।
यसैगरी पुरुषको ६४ केजीमा सनिल शाही पहिलो भए। उनले अश्विदेव श्रेष्ठलाई पराजित गरे। पुरुषकै ७५ केजीमा कोसिस श्रेष्ठ तथा ८१ केजी तौलसमूहमा केशर खत्रीले स्वर्ण जिते।
प्रतियोगिताका हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।