जनकपुरधाम- जनकपुरधाममा मैथिली साहित्य, संस्कृति तथा सभ्यताको प्रचार प्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सवको शुरुवात भएको छ।
जनकपुर साहित्य महोत्सवको उदघाटन पूर्वराष्ट्रपति डा. रामवरण यादवले गरेका छन्।
जनकपुर साहित्य महोत्सवको उदघाटन गर्दै पूर्वराष्ट्रपति यादवले चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। प्रदेश २ को विकास चुरेसँग जोडिएकोले यसको संरक्षण हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे। ‘चुरे विनाशका कारण प्राकृतिक विपत्ति सिर्जना भइराखेको छ,’ उनले भने, ‘चुरे संरक्षणमा सरकारीस्तरबाट ध्यान पुग्न सकेन।’
चुरेसँग मधेशको भाग्य र सिंगो मुलुकको भविष्य जोडिएको उनले बताए।
‘प्रदेश २ को समृद्धिको मेरुदण्ड मानिने कृषि उपजको भविष्य चुरे संरक्षणसँग जोडिएको छ। यहाँका करिब ६० प्रतिशत जनसंख्याको जीवन चुरेमाथि निर्भर छ।’ उनले भने, ‘यस प्रदेश भएर बग्ने नदी र खहरेको मूल चुरे हो। चुरे संरक्षण नभए यी जनसंख्याको जीवन नै ध्वस्त हुने भएकाले त्यसबाट जोगाउन अगाडि आउन आवश्यक छ।’
मधेसलाई मरुभूमिकरणबाट जोगाउन मात्र नभई बाढीपहिरोको विपद्बाट जोगाउनसमेत चुरे संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
पूर्व राष्ट्रपति यादवले यस क्षेत्रको विकासका लागि चुरे सँगसँगै शिक्षा क्षेत्रको विकासतर्फ समेत ध्यान पुर्याउनु आवश्यक रहेको बताए।
यस्तै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यो प्रदेश समृद्ध नभए देश समृद्ध हुन नसक्ने बताए। यस क्षेत्रको विकास भएमात्र नेपालको विकास हुने भएकोले शासक वर्गले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए।
बुधबार जनकपुरधाममा सुरु भएको जनकपुर साहित्य महोत्सवको पहिलो दिन उद्घाटन सत्रमा मुख्यमन्त्री राउतले शासकहरु मधेशलाई दोस्रो नजरियाले हेर्ने गरेको भन्दै भने, ‘यहाँ बसोबास गर्ने ६० लाख जनता समृद्ध भएन, किसान, श्रमजिविको जीवनमा समृद्धि आएन भने नेपाल समृद्ध हुन सक्दैन।’
मुख्यमन्त्री राउतले जनकपुरधामको प्रचारप्रसार गर्न पनि संघीय सरकार उदासिन रहेको आरोप लगाए। ‘हामीसँग माता जानकी छन्, गौतम बुद्ध छन्, सगरमाथा छन्, पशुपतिनाथ छन्, त्यसको महत्व र गरिमालाई बेच्न सक्छौँ र यस क्षेत्रलाई समृद्ध बनाउन सक्छौँ। यहाँको वनजंगल, पहाड राम्रो छ’, मुख्यमन्त्री राउतले भने, ‘तर दुर्भाग्य समृद्ध नेपाल, सुखी नेपालीको नारा लगाउने कहाँ छन् ?’
मुख्यमन्त्री राउतले सीताको जन्मभूमि जनकपुरधामको प्रचारप्रसारमा संघ सरकारले बेइमानी गरेको आरोप लगाए। उनले अरुमाथि औँला उठाउनुभन्दा आफै गर्नुपर्ने भएकोले प्रदेशको विकासको काम जानकी मन्दिर सौन्दर्यकरणबाट सुरु गरेको बताए।
मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनकपुरधामसँग विभेद गरेको कुरा अन्तरप्रदेश वैठकको क्रममा राखेको बताउँदै विवाहपञ्चमी महोत्सवको लागि बजेट छुट्याईदिन पटकपटक आग्रह गर्दै आएको बताए। उनले प्रदेश सरकारले विवाहपञ्चमीलाई ५० लाख रुपैयाँ दिदैँ आएको कुरासमेत बताए।