काठमाडौंः राजधानीको मुख्य प्रवेशद्वार मानिने कलंकीले काचुली फेरेको छ । सन् २०१८ जुन सम्ममा सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको अन्डरपासले कलंकीको स्वरुप बद्लिएको हो ।
चीन सरकारको सहयोगमा चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले अन्डरपास निर्माण गरिरहेको छ । उक्त खण्डको पाइलिङको काम हालै सकिएको छ भने कलंकी–बल्खु खण्डमा अहिले कंक्रिटाइजेसनको काम भइरहेको छ ।
माटो हटाउने काम धमाधम भइरहेको र स्ल्याब राखिसकिएको काठमाडौं चक्रपथ सुधार आयोजना प्रमुख ज्ञानेन्द्र झाले जानकारी दिए । आठ सय मिटर लामो अन्डरपासमध्ये अहिले बल्खुतर्फ अधिकांश काम सकेर सीतापाइलातर्फको निर्माणमा तीव्रता दिइएको छ ।
यो अन्डरपास बनेपछि बल्खु खसीबजारबाट आएका सवारी साधनलाई सोही मार्गबाट सीतापाइलासम्म पुग्ने छन् भने खसीबजारबाट थानकोट र सोल्टीमोडतर्फ जाने सवारीले भने हाल सञ्चालनमा रहेको सडक नै प्रयोग गर्नुपर्ने छ । थानकोट–कालीमाटी ओहोरदोहोर गर्ने सवारी साधनहरु अन्डरपासको माथिबाट गुड्नेछन् । यसको निर्माण बाँकी छ ।
नेपलमै पहिलो पटक बन्दै गरेको अन्डरपासले राजधानीमा देखिएको ट्राफिक जामलाई कम गर्न ठूलो टेवा पुर्याउने विश्वास गरिएको छ । तस्विर: सन्ध्या श्रेष्ठ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४