काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमा २६ वटा ‘नारा’ समावेश गरेको छ। आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटमा समावेश गरेको नारामध्ये ८ वटाका लागि पौने २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका हुन्।
सरकारको नीति तथा कार्यक्रम र बजेट नयाँ नारा सहितका कार्यक्रमहरुले भरिने प्रचलन पुरानै हो। आर्थिक वर्ष २०८१/८२मा १७ वटा नयाँ नारा सहित बजेट पुर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए भने,आर्थिक वर्ष २०७९/८० मा २० वटा नारा सहितका बजेट पुर्व अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका थिए।
सोही प्रचलनलाई निरन्तरता दिँदै वर्तमान अर्थमन्त्री पुनले मंगलबार संसदमा प्रस्तुत गरेको आगामी वर्षको बजेटमा समावेश भएको नारामा ४ वटा पुरानै हो भने, २२ वटा नयाँ नारा थप गरिएका हुन्। गत जेठ २ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पनि १६ वटा नारा समावेश थियो। जसलाई कार्यन्यवनमा ल्याउन बजेटमार्फत् अर्थमन्त्री पुनले सम्बोधन गरेका हुन्।
सरकारको नीति तथा कार्यक्रमले समेटेका बाहेक पनि बजेटमा ६ वटा नयाँ नारा समावेश भएका छन्। बजेटमा २ दर्जन बढी नयाँ नारा समावेश गरिएपनि बजेट भने ८ वटामा मात्रै विनियोजन गरिएको छ। बजेट विनियोजन भएका नाराका कार्यक्रममा २ वटा पुरानै नारालाई निरन्तरता दिँदै बजेट विनियोजन गरिएको हो।
आगमी आर्थिक वर्षमै कार्यान्यवन गर्ने गरी बजेट विनियोजन भएका नारा कार्यक्रमहरुमा उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रमको लागि ७ अर्ब, दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड, साथीबाट सिक्ने, साथीलाई सिकाउने कार्यक्रमका लागि ८७ करोड, राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रमका लागि ३ अर्ब, प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड र बागमती नदी प्रणालीको शान, सभ्यताको उत्थान कार्यक्रमका २ अर्ब ७२ करोड रुपैयाँ रुपैयाँ बजेट विनियोजन भएको छ।
साथै, यसअघिकै बजेटमा समावेश भएका पुरानै नाराका कार्यक्रम जेहेन्दार छात्रवृद्धि कार्यक्रमका लागि १ अर्ब ५९ करोड र आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड रुपैयाँ बजेट यस पटक विनियोजन गरिएको छ। अन्य १८ वटा नाराका कार्यक्रमका लागि बजेट विनियोजन भएको छैन।
बजेट सहित ‘नारा’ कार्यक्रम
१. उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम–७ अर्ब रुपैयाँ बजेट विनियोजन
२. दिवा खाजा कार्यक्रम–८ अर्ब ३९ करोड रुपैयाँ
३. साथीबाट सिक्ने, साथीलाई सिकाउने–८७ करोड रुपैयाँ
४. जेहेन्दार छात्रवृद्धि कार्यक्रम–१ अर्ब ५९ करोड (पुरानो)
५. आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रम–३ अर्ब ६ करोड रुपैयाँ (पुरानो)
६. राष्ट्र निर्माणमा युवा परिचालन–३ अर्ब
७. प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम–१० करोड रुपैयाँ
८. बागमती नदी प्रणालीको शान, सभ्यताको उत्थान–२ अर्ब ७२ करोड रुपैयाँ
बजेट बाहेकका ‘नारा’ कार्यक्रम
१. कृषिमा लगानी दशक
२. सुचना प्रविधि दशक
३. मेक इन नेपाल र मेड इन नेपाल–पुरानो
४. एक गाँउ एक उत्पादन र पर्यटन
५. ग्रामीण विकास अभियान
६. एक पालिका एक डाउनटाउन
७.विदेशको आम्दानी स्वदेशमा लगानी
८. जन्मस्थलमा गैरआवासीय नेपाली
९. दोलखा चलचित्र नगरी
१०. श्रमाधान कार्यक्रम
११. रिटर्नी उद्यमशीलता कार्यक्रम
१२. मिनिमल भाएबल प्रोडक्ट–अनुसन्धान र नवप्रवर्तनबाट सिर्जित ज्ञान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै स्टार्ट अप मार्फत्
१३. एक घर एक धारा
१४. महिलामा लगानी वर्ष
१५. हाम्रा बा आमा, हाम्रा जिम्मेवारी
१६. एक वडा एक पार्क
१७. हिमाल जोगाऔं, मानवता बचाऔं–पुरानो
१८. सेवाग्राहीसँग शुक्रबार कार्यक्रम
बजेट सहित ‘नारा’ कार्यक्रमको पूर्ण विवरण
- आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसँग आवद्ध गराउन उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ। संघ, प्रदेश र स्थानीय तह, निजी क्षेत्र, सहकारी तथा समुदायको साझेदारीमा सञ्चालन हुने यस कार्यक्रम मार्फत कृषिको उत्पादन र उत्पादकत्व बढाउन, कृषिमा आधारित उद्योगको विकास र विस्तार गर्न, ग्रामीण पर्यटन प्रवर्द्धन गर्न तथा सूचना-प्रविधिमा आधारित उद्यम स्थापना र सञ्चालन गर्न प्रोत्साहन गरिनेछ। यस कार्यक्रमका लागि रु. ७ अर्ब विनियोजन गरेको छु।
- प्रारम्भिक बाल शिक्षादेखि कक्षा पाँचसम्मका तीस लाख विद्यार्थी लाभान्वित हुने दिवा खाजा कार्यक्रमको लागि रू. ८ अर्ब ३९ करोड विनियोजन गरेको छु।
- सार्वजनिक विद्यालय रूपान्तरण कार्यक्रम सञ्चालन गरी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरिनेछ। साथीबाट सिक्ने, साथीलाई सिकाउने कार्यक्रम सञ्चालन गरी विद्यार्थीको सिकाइ अभिवृद्धि तथा शैक्षिक नेतृत्व विकास गरिनेछ। विद्यालय शिक्षादेखि नै आफ्नो रूचि र क्षमता अनुरूप भावी अध्ययनका क्षेत्र र पेशा छनौट गर्न करियर काउन्सिलिङ कार्यक्रम सञ्चालन गरिनेछ। यस कार्यक्रमबाट एक लाख विद्यार्थी लाभान्वित हुनेछन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु. ८७ करोड विनियोजन गरेको छु।
- प्राविधिक धारको उच्च शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ। प्राविधिक शिक्षातर्फ रु .१ अर्ब ५९ करोड विनियोजन गरेको छु।
- आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमको लागि रु. ३ अर्ब ६ करोड विनियोजन गरेको छु।
- युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहित प्रतिभा सार्वजनिक सेवा प्रवाह र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्चालन गरिनेछ। यस कार्यक्रम अन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपन्छी फर्म, होटल, पर्यटन, निर्माण क्षेत्र लगायतमा कार्यस्थल तालीम प्रदान गरी कम्तिमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिनेछ। यस कार्यक्रमका लागि रु. ३ अर्ब विनियोजन गरेको छु।
- युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहित प्रतिभा सार्वजनिक सेवा प्रवाह र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्चालन गरिनेछ। यस कार्यक्रम अन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपन्छी फर्म, होटल, पर्यटन, निर्माण क्षेत्र लगायतमा कार्यस्थल तालीम प्रदान गरी कम्तिमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिनेछ। यस कार्यक्रमका लागि रु. ३ अर्ब विनियोजन गरेको छु।
- प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम मार्फत छोरीलाई रोजगारउन्मुख शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न रु. १० करोड विनियोजन गरेको छु। युवा महिलाका आवश्यकता, चुनौती र अवसरका विषयमा राष्ट्रियस्तरमा छलफल र अन्तर्क्रिया गर्न आगामी वर्ष युवा महिला राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ। \