काठमाडौं – कोरोना भाइरस विरुद्धको खोप मंगलबारसम्म एक लाख २८ हजार ६५० जनाले लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका २०१ बुथबाट यी व्यक्तिले खोप लगाएका हुन्।
प्रदेश १ मा १७ हजार २८७, प्रदेश २मा १६ हजार १७३ र बागमती प्रदेशमा ४५ हजार ३४५ जनाले खोप लगाएका छन्।
यसैगरी गण्डकीमा १६ हजार २७०, लुम्बिनीमा १७ हजार ९७९, कर्णालीमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा आठ हजार ९३६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन्।
नेपालमा कोरोना भाइरस संक्रमणबाट दुई हजार ३० जनाको मृत्यु भएको छ।
यस्तै दुई लाख ७१ हजार २८९ जना कोरोना संक्रमित भएका छन्। तीमध्ये दुई लाख ६६ हजार ८५९ जना कोरोनामुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या दुई हजार चार सय छ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको छ। यस्तै १७१ जना संक्रमित थपिएका छन् भने संक्रमण मुक्त हुनेको संख्या २५९ छ।