पोखरा– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सिमसार क्षेत्र जीवन प्रणालीको महत्वपूर्ण अंग रहेको बताएका छन्।
‘सिमसार र पानी’ भन्ने मूल नाराका साथ विश्व सिमसार दिवसको अवसरमा मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश र डब्लुडब्लुएफले फेवाताल किनारमा अवस्थित माछापुच्छ्रे पार्कमा गरेको कार्यक्रममा मन्त्री गुरुङले सिमसार क्षेत्र हरेक प्राणीहरुको जीवन पद्धतिसँग जोडिएको बताए। पृथ्वीमा जीव तथा जीवनको अस्तित्वका लागि सिमसारले अतुलनीय योगदान गर्दै आइरहेको उनको भनाइ थियो।
सिमसार अत्यन्त उत्पादनशील पारिस्थिकीय प्रणाली भएको चर्चा गर्दै उनले सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिए। मन्त्री गुरुङले उच्च हिमालयको पानीका मूलबाट बनेका वा केही अंश रहेका नेपालका सिमसार क्षेत्रको विशेषता पृथक रहेको चर्चा समेत गरे।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पानी तथा सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकारले तदारुकताका साथ काम गरेको बताए। सिमसार क्षेत्र तथा तालहरुको संरक्षण तथा विकास गर्न प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरण गठन गरी काम गरेको बताउँदै मन्त्री लम्सालले सिमसारले सामाजिक तथा आर्थिक विकासमा टेवा पुर्याउने जनाए।
सिमसार क्षेत्रले मानव जीवनको लागि आवश्यक पर्ने आधारभूत आवश्यकताका अतिरिक्त मानव सभ्यता र संस्कृतिको जगेर्ना समेत गर्ने भएकोले यसको संरक्षण गर्नु मानव दायित्व भएको बताए।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले पृथ्वीमा पानीको संकट दिन प्रतिदिन बढ्दै गएको र यसले मानव जाति र जैविक विविधतालाई नै असर पारेको बताए। उनले पृथ्वीले पुनर्भरण गर्ने क्षमताभन्दा मानवजातीले बढी दोहन गरेका कारणले पारिस्थितिकीय प्रणाली र सिमसार क्षेत्र लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षण र जगेर्ना गर्न तर्फ अग्रसरताका साथ लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यद्वय रामजी बराल, राजीव पहारी र जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले सिमसार क्षेत्रको जगेर्ना गर्न सबै आ–आफ्नो स्थानबाट लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा गण्डकी प्रदेश ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यकारी प्रमुख अनुप गुरुङले सिमसार क्षेत्रको विषयमा प्रस्तुति राखेका थिए। सोही अवसरमा सिमसार र पानी विषयमा अन्तरक्रिया समेत गरिएको थियो।