वाग्मती- राष्ट्रिय समावेशी आयोगले विभिन्न सिफारिस समेटिएको वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई बुझाएको छ।
आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले शुक्रबार प्रतिवेदन वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हस्तान्तरण गरिन्।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख प्रसाईंले आयोगको बोर्ड पूर्ण नहुँदा पनि मेहनतका साथ प्रतिवेदन तयार पारेर बुझाएकोमा खुशी व्यक्त गरे।
अन्य आयोगले पनि यसैगरी खोज तथा अनुसन्धानको कार्य गर्नुपर्ने तर यस्तो नपाइएको प्रदेश प्रमुख प्रसाईंले बताए।
आर्थिक वर्ष ०७६–७७ र ०७७–७८ को प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइएको कार्यवाहक अध्यक्ष ओझाले बताइन। दुई वटा प्रतिवेदनमा गरी झण्डै ६० सिफारिस रहेको ओझाले बताइन्।
समावेशिताभित्र पर्ने ११ समूहको समृद्धिमा सरकारले गर्नुपर्ने कामको लागि आयोगले गरेको सिफारिस समेटिएको बताइएको छ। आयोगले यसअघि प्रदेश १ को प्रदेश प्रमुखलाई समेत वार्षिक प्रतिवेदन बुझाइसकेको ओझाले जानकारी दिइन्।
– रासस