काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन्। उनी श्री एयरलाइन्सको नियमित उडानबाट धनगढी पुगेका हुन्।
‘प्रधानमन्त्रीज्यू केही बेरअघि विमानस्थलमा ओर्लेर अहिले बजार प्रस्थान गरिसक्नुभएको छ,’ प्रदेश सांसद एवम् नेकपा ओली समूहका केन्द्रीय सदस्य महेशदत्त जोशीले भने।
प्रधानमन्त्री ओली विमानस्थलबाट सोझै नेपाल राष्ट्र बैंक धनगढीको अतिथि गृहमा पुगेका छन्। त्यहाँ उनले केहीबेर आराम गर्ने र त्यसपछि कार्यक्रम स्थलमा प्रवेश गर्ने नेता जोशीले जानकारी दिए।
ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली धनगढी विमानस्थलमा पुग्दा उनलाई स्वागत गर्न प्रदेश प्रमुखसहित नेता–कार्यकर्ताहरु उपस्थित भएका थिए। तर, दाहाल–नेपाल समूहका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा मन्त्रीहरु भने देखिएनन्। ‘मुख्यमन्त्रीसहितका मन्त्रीहरु स्वागतमा आउनु भएन,’ प्रदेश सांसद जोशीले भने।
प्रतिनिधि सभा भंग गरेपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर गएका हुन्। प्रधानमन्त्री धनगढी पुगेपछि उनको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध देशव्यापी आन्दोलनमा उत्रिएको नेकपाकै दाहाल नेपाल–समूहका कार्यकर्ताले भने विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरुले धनगढीमा टायर बालेर प्रदर्शन गरेका थिए।
प्रधानमन्त्रीविरुद्ध विरोध र प्रदर्शन हुन सक्ने भन्दै कैलालीको सदरमुकाम धनगढी र आमसभास्थलमा उच्च सुरक्षा व्यवस्था अपनाइएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्।
विमानस्थलदेखि धनगढीसम्मका सडक, चोकचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका छन्।