पोखरा– पर्यटकीय स्थल लेकसाइड क्षेत्रको सडक किनारमा जडित सीसी क्यामरा मर्मतसम्भारका लागि पोखरा पर्यटन परिषद् र स्काई लिंक टेक्नोलोजीबीच एकवर्षे सम्झौता भएको छ।
सम्झौतापत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई र स्काई लिंकका प्रोपाइटर राजेन्द्र तिवारीले सोमबार हस्ताक्षर गरे।
सम्झौताअनुसार लिंकले एक वर्षसम्म सीसी क्यामराको उचित रेखदेख तथा मर्मतसम्भार गर्नेछ।
‘सानातिना समस्याका कारण क्यामरा नचल्दा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण लेकसाइड क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्न सक्ने देखेर यो सम्झौता गरिएको हो’, परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले भने।
मर्मतसम्भार गरेबापत लिंकले यो वर्ष ६५ हजार रुपैयाँ लिनेछ।
‘विगत तीन वर्षदेखि हामीले नै यहाँको क्यामरा हेर्दे आएका छौं। हामीसँग अनुभव पनि छ’, लिंकका प्रोपाइटर राजेन्द्र तिवारीले भने।
कार्यक्रममा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, महासचिव रामचन्द्र शर्मा, निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेल, रेबान पोखराका उपाध्यक्ष नरेश भट्टराई, नेपाल पर्वतारोहण संघ, गण्डकीका अध्यक्ष शेषकान्त शर्मा, एगाका अध्यक्ष विश्वराज पौडेल, वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी यादव ढकाल लगायतले सीसी टिभी क्यामराको महत्त्वबारे प्रकाश पारेका थिए।
लेकसाइडको सहिदचोकदेखि खहरे, डिहिकोपाटन क्षेत्रसम्म २० वटा क्यामरा तथा चौतर्फी अवलोकन गर्ने तीन वटा क्यामरा जडान गरिएको छ।
पोखरा पर्यटन परिषद्ले ६ लाख खर्चिएर यी क्यामेरा मर्मतसम्भार तथा फेरबदल गरेको छ।
क्यामरा बिगँ्रदा लेकसाइड क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका थिए।